फेसबुक र इन्स्टाग्राममा राखिएका नक्कली विज्ञापनका लागि मेटा जिम्मेवार: जर्मन अदालत

  • Technology Khabar | ३ आश्विन २०८३, शनिबार
फेसबुक र इन्स्टाग्राममा राखिएका नक्कली विज्ञापनका लागि मेटा जिम्मेवार: जर्मन अदालत
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

जर्मन अदालतले फेसबुक र इन्स्टाग्राममा तेस्रो पक्षले राखेका नक्कली विज्ञापनका लागि मेटा जिम्मेवार रहेको फैसला गरेको छ। अदालतले अमेरिकी प्रविधि कम्पनी मेटालाई त्यस्ता सामग्री हटाउन र क्षतिपूर्ति तिर्न आदेश दिएको बिहीबार जनाएको छ।

जर्मनीको एक वित्तीय पोर्टल सञ्चालक र त्यसका संस्थापकले मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। उनीहरूको अनुमति नलिई ट्रेडमार्कमा दर्ता गरिएको लोगो र तस्बिर प्रयोग गरेर कथित रूपमा ठगी गर्ने उद्देश्यले लगानीसम्बन्धी विज्ञापनहरू फेसबुक र इन्स्टाग्राममा राखिएको थियो।

अदालतका अनुसार उक्त पोर्टल सञ्चालकले सन् २०२४ को अगस्टमा मात्रै मेटालाई करिब २६० वटा यस्ता उल्लंघनबारे जानकारी गराएका थिए। तर मेटाले केही सामग्री हटाउन ६२ दिनसम्म लगाएको थियो।

अदालतले मेटाले डिजिटल सर्भिसेस एक्ट (डीएसए) अन्तर्गत आफूलाई त्यस्ता सामग्रीबारे जानकारी नभएको भन्दै जिम्मेवारीबाट पन्छिन नसक्ने ठहर गरेको छ। अदालतका अनुसार मेटाले केवल समयक्रमअनुसार सामग्री देखाउने फिड सञ्चालन गर्नेभन्दा फरक रूपमा आफ्ना एल्गोरिदम र विज्ञापनसम्बन्धी अभ्यासमार्फत सामग्रीमा नियन्त्रण गर्छ।

अदालतले युरोपेली संघको सर्वोच्च अदालत, युरोपियन कोर्ट अफ जस्टिसले गत जुनमा गरेको एउटा फैसलालाई पनि आधार मानेको छ।

मेटाका प्रवक्ताले फैसलासँग आफूहरू असहमत रहेको बताएका छन्। ‘हामी यो निर्णयसँग सम्मानपूर्वक असहमत छौँ र अब चाल्नुपर्ने कदमबारे विचार गरिरहेका छौँ,’ उनले विज्ञप्तिमा भने। कम्पनीले नक्कली सामग्री पहिचान गर्न सक्रिय उपाय अपनाउनुका साथै रिपोर्ट गरिएका सामग्री हटाउन महत्वपूर्ण काम गरेको पनि उनले बताए।

सेप्टेम्बर १६ मा जारी फैसलाअनुसार मेटाले ती नक्कली विज्ञापनसम्बन्धी विवरण र तिनबाट भएको आम्दानीको जानकारीसमेत खुलाउनुपर्नेछ।

अदालतका अनुसार यो फैसला अन्तिम भइसकेको छैन र मेटाले अपिल दायर गरेर फैसलालाई चुनौती दिन सक्छ।

प्रकाशित: ३ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार