एफबीआईले एन्थ्रोपिकको प्रविधि नक्कल गरेको आरोप लगाएको चिनियाँ एआई प्रयोग संघीय सरकारको वेबसाइटमा

  • Technology Khabar | ३ आश्विन २०८३, शनिबार
एफबीआईले एन्थ्रोपिकको प्रविधि नक्कल गरेको आरोप लगाएको चिनियाँ एआई प्रयोग संघीय सरकारको वेबसाइटमा

काठमाडौं ।

अमेरिकी सरकारले प्रस्तावित संघीय नियमहरू खोज्न प्रयोग हुने सरकारी वेबसाइटमा चिनियाँ कम्पनीको एआई मोडल प्रयोग गरेको पाइएको छ।

उक्त मोडल विकास गर्ने अलिबाबामाथि अमेरिकी प्रतिद्वन्द्वी एन्थ्रोपिकको प्रविधि ‘दुर्भावनापूर्ण’ रूपमा नक्कल गरेको आरोप एफबीआईले लगाएको छ।

राष्ट्रिय अभिलेख प्रशासनअन्तर्गत सञ्चालन हुने फेडरल रजिस्टरको वेबसाइटमा बुधबार अन्य खोज विकल्पसँगै अलिबाबाको क्वेन मोडलमा आधारित एआई सर्च टूल उपलब्ध थियो। यो टूल वेबसाइटमा कहिलेदेखि प्रयोग गरिएको थियो भन्ने स्पष्ट छैन।

स्क्रिनसट र वेबसाइटको स्रोत कोडको अभिलेखित संस्करणअनुसार सामाजिक सञ्जालमा यसबारे पोस्टहरू सार्वजनिक भएको समयमा बुधबार नै क्वेनमा आधारित खोज उपकरण वेबसाइटबाट हटाइएको रोयटर्सले रिपोर्ट गरेको छ।

एफबीआईले गत साता अलिबाबाले एन्थ्रोपिकका एआई मोडल नक्कल गरेर आफ्नै कृत्रिम बुद्धिमता उपकरण निर्माण गरेको आरोप लगाएको थियो। यसले अर्को साता हुने अमेरिका र चीनका नेताबीचको बैठकअघि दुई देशबीचको तनाव थप बढाएको छ।

अमेरिकी अधिकारीहरूले चिनियाँ एआई कम्पनीहरूले अमेरिकी प्रविधिको ‘औद्योगिक स्तरमा’ ‘दुर्भावनापूर्ण’ रूपमा नक्कल गरिरहेको बताएका थिए।

विश्वभर एआई सुरक्षाबारे बहस भइरहेका बेला र एआईमा नियामकीय व्यवस्था आवश्यक छ कि त्यसले अमेरिकालाई प्रतिस्पर्धामा कमजोर बनाउँछ भन्ने विषयमा बहस चलिरहेका बेला अमेरिकी सरकारले क्वेन प्रयोग गरेको विषय सार्वजनिक भएको हो।

एआई विज्ञहरूले फेडरल रजिस्टरको वेबसाइटमा चिनियाँ एआई उपकरण प्रयोग गर्दा तत्काल राष्ट्रिय सुरक्षा जोखिम नदेखिएको बताएका छन्। तर चिनियाँ एआई मोडलसम्बन्धी अमेरिकी सरकारकै धारणासँग संघीय निकायको प्रयोग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न उठेको छ।

इन्फर्मेशन टेक्नोलोजी एण्ड इनोभेशन फाउण्डेशनका अध्यक्ष ड्यानियल क्यास्ट्रोले उन्नत एआई मोडल निर्माणमा अमेरिका र चीनबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला अमेरिकी निकायले चिनियाँ एआई मोडल प्रयोग गर्नु विरोधाभासपूर्ण भएको बताए।

‘मैले देखेका सबैभन्दा असंगत कुरामध्ये यो एउटा हो,’ उनले भने।

फेडरल रजिस्टरको वेबसाइटले दैनिक रूपमा नयाँ प्रस्तावित नियमहरूको सूची सार्वजनिक गर्छ। वेबसाइटमा सार्वजनिक प्रतिक्रियाहरू खोज्न क्वेन मोडलमा आधारित उपकरण उपलब्ध गराइएको थियो।

क्वेन ओपन-वेट मोडल हो। यसको अर्थ प्रणालीका महत्वपूर्ण भाग सार्वजनिक रूपमा उपलब्ध हुन्छन्। विकासकर्ताले यसलाई डाउनलोड गरी आफ्नो आवश्यकताअनुसार परिवर्तन गर्न सक्छन्। यस्तो मोडल एन्थ्रोपिक र ओपनएआईजस्ता कम्पनीका बन्द मोडलको तुलनामा प्रायः कम लागतमा प्रयोग गर्न सकिन्छ।

‘कुनै पनि अमेरिकी संघीय सरकारी निकायले चिनियाँ एआई मोडल प्रयोग गर्नु हुँदैन,’ चीनसम्बन्धी अमेरिकी प्रतिनिधिसभाको समितिका अध्यक्ष तथा मिशिगनका रिपब्लिकन सांसद जोन मोलिनारले भने। ‘यसले संघीय सरकारलाई चिनियाँ एआई मोडलमा अझ निर्भर बनाउँछ र यो राष्ट्रिय हितमा छैन।’

सुरक्षा विज्ञहरूका अनुसार ओपन-वेट मोडल आफ्नै सूचना प्रविधि पूर्वाधारमा सञ्चालन गर्न सकिन्छ। यसले बाह्य सेवा प्रदायकसँग अन्यथा साझा गर्नुपर्ने संवेदनशील तथ्यांकमाथि संस्थालाई थप नियन्त्रण दिन सक्छ।

जर्जटाउन ल कलेजका प्राध्यापक अनुपम चन्दरले क्वेनको प्रयोगले तत्काल साइबर सुरक्षा जोखिम देखाएको नपाइए पनि जोखिम मोडललाई कसरी प्रशिक्षण दिइएको थियो भन्नेमा निर्भर हुने बताए। फेडरल रजिस्टर वेबसाइटको सामग्री पहिले नै सार्वजनिक भएकाले उक्त मोडलले संवेदनशील सरकारी जानकारीमा काम गरिरहेको थिएन।

अमेरिकी सिनेटको इन्टेलिजेन्स कमिटीका उपाध्यक्ष तथा भर्जिनियाका डेमोक्र्याट सांसद मार्क वार्नरले जोखिम अमेरिकी तथ्यांक सरकारको सुरक्षा सीमाबाहिर गएर अलिबाबाको नियन्त्रणमा रहेका प्रणालीमा प्रशोधन भयो कि भएन भन्नेमा निर्भर हुने बताएका छन्।

गत अप्रिलमा चीन र होमल्यान्ड सेक्युरिटीसम्बन्धी अमेरिकी प्रतिनिधिसभाका समितिहरूले क्वेनप्रयोग गर्ने एयरबीएनबीलाई पत्र पठाउँदै अमेरिकीहरूले प्रयोग गर्ने प्लेटफर्ममा चिनियाँ एआई उपकरणको एकीकरणबाट उत्पन्न ‘राष्ट्रिय सुरक्षा जोखिम’ सम्बन्धी अनुसन्धानका क्रममा यसको प्रयोगबारे विस्तृत जानकारी मागेका थिए।

प्रकाशित: ३ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार