काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख चासोका रूपमा रहने भएको छ। एआई विकास, अत्याधुनिक चिप्समा पहुँच र सुरक्षा मापदण्डमा अमेरिका र चीनबीच प्रतिस्पर्धा तथा मतभेद तीव्र छन्।
अमेरिका र चीन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासका प्रमुख शक्ति हुन्। डिपसिक र मुनसट एआईलगायत चिनियाँ कम्पनीका खुला मोडेलले अमेरिकी ओपनएआई र एन्थ्रोपिकका प्रणालीसँग प्रतिस्पर्धा गर्न थालेका छन् । चीनको एआई विकास रोक्न अमेरिकाले अत्याधुनिक चिप्सको निर्यातमा नियन्त्रण गर्दै आए पनि ट्रम्प प्रशासनले केही चिप्समा नियम खुकुलो पारेको छ भने अन्य प्रविधिमा प्रतिबन्ध कायम राखेको छ।
एआईको तीव्र विकाससँगै सुरक्षा र नियमनबारे चिन्ता पनि बढेको छ। अमेरिकामा चीनसँगको प्रतिस्पर्धाका कारण एआई विकास सुस्त पार्न नहुने धारणा बलियो छ भने चीनले पनि एआईलाई प्रमुख भू–राजनीतिक प्रतिस्पर्धाको क्षेत्रका रूपमा हेरेको छ।
आगामी भेटमा एआईसम्बन्धी सीमित सहकार्यको सम्भावना रहे पनि विकासको गति घटाउने वा विश्वव्यापी सुरक्षा मापदण्ड बनाउने विषयमा सहमति जुटाउन कठिन हुने विश्लेषकहरूको धारणा छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईमा अमेरिका र चीन विश्वका पहिलो र दोस्रो प्रमुख शक्ति भएकाले जोखिम नियन्त्रणका उपाय तय गर्न तथा दुवै पक्षबीच नजिकको सम्पर्क आवश्यक रहेको बताएका छन्। रासस\एएफपी
प्रकाशित: २ आश्विन २०८३, शुक्रबार