काठमाडौं ।
नेपाल साइन्स ओलम्पियाड (नेसो) ले विद्यालयस्तरीय प्रदर्शनी तथा प्रवचन कार्यक्रम गरी आज यहाँ १४औँ राष्ट्रिय विज्ञान दिवस मनाएको छ।
‘नेसो’को आयोजनामा कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजना भएको अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टिममा महिला’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागीहरूको उपस्थिति उल्लेख्य थियो ।
आयोजकका अनुसार नेपाल रसिया विज्ञान तथा प्रविधि सोसाइटी, सेवा नेपाल, एडिया, त्रिमूर्ति एकेडेमी र सर्भिस फर पिस नामक संस्थाहरुले कार्यक्रममा सहकार्य रहेको छ ।
‘प्रेरित हुनुहोस्, सिक्नुहोस्, जडान हुनुहोस्’ भन्ने नाराका साथ आयोजित अन्तर–विद्यालय विज्ञान प्रदर्शनीमा काठमाडौँ, भक्तपुर र ललितपुरका १५ विद्यालयका विद्यार्थीले विभिन्न वैज्ञानिक परियोजना तथा ‘मोडल’ प्रस्तुत गरेका थिए । प्रदर्शनीले विद्यार्थीमा विज्ञानप्रतिको रुचि, खोज तथा सिर्जनशीलता उजागर गरेको आयोजकले जनाएको छ।
सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा जनार्दन लामिछानेले अन्तर–विद्यालय विज्ञान प्रदर्शनी तथा ‘स्टीममा महिला’ अन्तरक्रिया कार्यक्रमले विद्यार्थीलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनका विषयमा सिक्ने र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेको बताए।
काठमाडौँस्थित रसियन कल्चर सेन्टरकी निर्देशक अनास्तासिया कोक्लोभाले विज्ञान र प्रविधिको महत्वका बारेमा चर्चा गर्दै प्रस्तुत विज्ञान प्रदर्शनीले विद्यार्थीको सिर्जना, सीप, कला, क्षमता र अभिरुचि उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हरेक वर्ष असोज १ गते विविध कार्यक्रमका साथ नेपालमा विज्ञान दिवस मनाइदै आएको छ । रासस
प्रकाशित: १ आश्विन २०८३, बिहीबार