डिजिटल नक्साङ्कनमा काठमाडौं महानगरपालिकाको फड्को

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
डिजिटल नक्साङ्कनमा काठमाडौं महानगरपालिकाको फड्को
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले हालसम्ममा २ लाख १० हजार ९७६ भवन र एक हजार ३४० किलोमिटर सडकको डिजिटल नक्साङ्कन सम्पन्न गरेको छ।
कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार एक हजार ३४० किलोमिटर सडकको नक्साङ्कन गरी २ हजार ८०० भन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जिआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ।
त्यस्तै, २५ हजार १९ वटा भवनको प्रमाणीकरण गरिएको छ। विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदास्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जिआइए अभिलेख निर्माण गरिसकिएको डङ्गोलले जानकारी दिएन।
कामपा क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाउने भूउपयोग परिषदले निर्णयसमेत गरिसकेको छ।
भूउपयोग ऐन २०७६, भूउपयोग नियमावली २०७९ तथा सम्बन्धित निर्देशिका र मापदण्डअनुसार अद्यावधिक आधार तथा मापदण्डका आधारमा गरिन्छ।
यसअन्तर्गत विवरण तयार गर्ने, उपलब्ध नक्सा तथा तथ्याङ्क अद्यावधिक गर्ने र महानगर क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरिन्छ।
भूउपयोग तथा भूमि व्यवस्थापनसम्बन्धी कामलाई एकीकृत बनाउन कामपाले हाललाई अस्थायी ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने भएको छ।
भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिनेछन्। आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था छ।
कामपाको घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डिजिपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम भइसकेको छ। अब ३२ वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्य कामपाले अघि सारेको छ।
भूउपयोग वर्गीकरणको अन्तिम प्रक्रियामा नापी विभागबाट प्राप्त नक्सा तथा तथ्याङ्कको अध्ययन, जनप्रतिनिधिलाई जानकारी, आधार तथा मापदण्ड तयारी, सरोकारवालासँग छलफल, भूउपयोग उपक्षेत्रमा वर्गीकरण, नक्सा तयार तथा स्वीकृति र अन्तिम कित्तागत विवरण सार्वजनिक गर्ने काम हुनेछ।
स्वीकृत नक्सा तथा कित्तागत विवरण कामपाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्ने तथा सम्बन्धित मालपोत र नापी कार्यालयमा पठाउने प्रक्रिया हुनेछ।–रासस

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...