बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौं ।

काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकासमन्त्री सुनील लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले सङ्घीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासा तथा सुझाव एपमार्फत दर्ता गर्न सकिने जनाएको छ।

एपमार्फत दर्ता गरिएका गुनासाको समाधान प्रक्रिया र अवस्थासमेत नागरिकले प्रत्यक्ष रूपमा हेर्नसक्ने व्यवस्था गरिएको छ।

गुनासा सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौँ उपत्यकाभित्र सङ्घीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। सङ्घीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी अघि बढाइएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको  छ।-रासस

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...