काठमाडौं ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारी कर्मचारी र एनसेल कर्मचारी ट्रेड युनियनले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन्।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो।
एनसेल आजियाटा लिमिटेडका चिफ कर्पोरेट एण्ड रेगुलेटरी अफेयर्स अफिसर डिल्लीराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए। सो रकम हन्तान्तरण कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे पनि उपस्थित थिए।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । बाढी प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ।
एनसेल आजियाटा लिमिटेडले यसअघि पनि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड सहयोग गरिसकेको छ।
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार