काठमाडौं ।
विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट) र उनको परोपकारी संस्था बिस्ट फिलान्थ्रोफीले केयरसँग सहकार्य गर्दै नेपालका बाढी तथा पहिरो प्रभावितका लागि राहत रकम जुटाउने अभियानमा सहभागी भएका छन्।
उक्त राहत नेपालको भोटेकोशी बाढी प्रभावितका लागि प्रदान गरिने बुझिएको छ।
अमेरिकी यूट्युबर तथा इन्फ्लुएन्सर मिस्टर बिस्टले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका बाढी प्रभावितका लागि आफूहरूले लाखौं डलरको राहत रकम संकलन गरिरहेको जनाउँदै अभियानमा सहयोग गर्न विश्वभरका मानिसलाई अपिल गरेका छन्। हालसम्म १० लाख अमेरिकी डलर संकलन भएको बताएका छन्।
उनले नेपालका बाढी प्रभावितको आवाज उठाउन आफूले पहल गरिरहेको पनि बताएका छन्। केही साताअघि नेपालमा एउटा भिडियो छायांकन गर्ने योजना रहे पनि भोटेकोशी बाढीका कारण तत्कालका लागि उक्त योजना स्थगित गरिएको मिस्टर बिस्टले जनाएका छन्।
भिडियो छायांकनको योजना स्थगित भएपछि उनी राहत संकलन अभियानमा जुटेका हुन्। उनको परोपकारी संस्था ‘बिस्ट फिलान्थ्रोपी’ सामाजिक परियोजना ‘केयर प्याकेज’ अन्तर्गत यो अभियानमा सहभागी भएको छ।
केयरको नेपाल इमर्जेन्सी पेजमा समेत “केयरले मिस्टर बिस्ट र बिस्ट फिलान्थ्रोपीसँग सहकार्य गरेको” उल्लेख छ।
बिस्टले सेयर गरेको लिंकमार्फत प्रभावितका लागि अत्यावश्यक राहत सामग्री जुटाइने उल्लेख छ। सूचीमा अस्थायी आवास, सौर्य ऊर्जा, खाना पकाउने ग्यास तथा सामग्री, पिउने पानी, साबुन र महिनावारीका बेला आवश्यक पर्ने सामग्री समावेश छन्।
उनले आर्थिक सहयोग गर्न सकिने डोनेसन लिंकसमेत सेयर गरेका छन्।
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार