सन् २०३५ सम्म अमेरिकाका डाटा सेन्टरले जर्मनी र जापानले मिलेर खर्च गर्नेभन्दा बढी प्राकृतिक ग्यास खपत गर्न सक्ने

  • Technology Khabar | १ आश्विन २०८३, बिहीबार
सन् २०३५ सम्म अमेरिकाका डाटा सेन्टरले जर्मनी र जापानले मिलेर खर्च गर्नेभन्दा बढी प्राकृतिक ग्यास खपत गर्न सक्ने
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

सन् २०३५ सम्म अमेरिकाका डाटा सेन्टरले जर्मनी र जापानले मिलेर खपत गर्नेभन्दा बढी प्राकृतिक ग्यास खपत गर्ने अनुमान गरिएको छ।

आगामी दशकमा एलएनजी निर्यातपछि प्राकृतिक ग्यासको माग बढाउने दोस्रो ठूलो कारण डाटा सेन्टर बन्ने अपेक्षा गरिएको छ। ब्लूमबर्गएनईएफको नयाँ प्रतिवेदनअनुसार, यी डाटा सेन्टरले दैनिक करिब १८ अर्ब क्युबिक फिट प्राकृतिक ग्यास खपत गर्न सक्छन्। यो संस्थाले नौ महिनाअघि गरेको अनुमानभन्दा झन्डै दोब्बर हो।

नयाँ अनुमानमा घोषणा गरिएका सबै डाटा सेन्टर परियोजना पूरा नहुने सम्भावनालाई पनि समावेश गरिएको छ।

टेकक्रञ्चका अनुसार पछिल्ला महिनाहरूमा आफ्नै स्थानमा विद्युत् उत्पादन गर्ने डेटा सेन्टरले चर्चा पाएका छन्। मेटा,  माइक्रोसफ्ट, गुगल र अमेजनले ग्रिडलाई बाइपास गरेर नयाँ प्राकृतिक ग्यास विद्युत् प्लान्ट सञ्चालन गर्ने योजना घोषणा गरेका छन्।

यस्ता परियोजनाले सन् २०३५ सम्म दैनिक २.९ अर्बदेखि ३.४ अर्ब क्युबिक फिटसम्म प्राकृतिक ग्यास खपत गर्नेछन्। यो अहिले सबै डेटा सेन्टरले खपत गर्ने प्राकृतिक ग्यासको लगभग बराबर हो। यसमा ग्रिडका लागि विद्युत् उत्पादन गर्न प्रयोग हुने प्राकृतिक ग्यास पनि समावेश छ।

तर ब्लूमबर्गएनईएफका अनुसार आफ्नै स्थानमा विद्युत् उत्पादन गर्ने डाटा सेन्टरले समग्र माग वृद्धिको सानो हिस्सा मात्र ओगट्न सक्छन्।

अर्को दशकको मध्यसम्म ग्रिडमा जोडिएका डाटा सेन्टरले विद्युत् क्षेत्रबाट हुने प्राकृतिक ग्यासको खपतमा दैनिक थप १५ अर्ब क्युबिक फिट माग सिर्जना गर्ने अनुमान गरिएको छ। यसको अर्थ बुझ्न, सन् २०३५ सम्म प्राकृतिक ग्यासको मागमा हुने यो वृद्धि ग्रिडमा जोडिएका अन्य सबै क्षेत्रको संयुक्त माग वृद्धिभन्दा पाँच गुणा बढी हुनेछ।

यदि मागमा भएको यो ठूलो वृद्धि वास्तविकतामा परिणत भयो भने प्राकृतिक ग्यासको मूल्य बढ्न सक्छ।

हालका धेरै डाटा सेन्टर निर्माण परियोजना पछिल्ला वर्षमा कायम रहेको स्थिर प्राकृतिक ग्यासको मूल्यमा निर्भर छन्। तर नोरेभाका विश्लेषकहरूले यो अपेक्षा गलत हुन सक्ने बताएका छन्।

डाटा सेन्टरको विस्तार र बढ्दो एलएनजी निर्यातको संयुक्त प्रभावले प्राकृतिक ग्यासको मूल्य निकै बढ्न सक्ने उनीहरूको भनाइ छ। यस्तो मूल्यवृद्धि प्रविधि कम्पनीहरूले आर्थिक रूपमा धान्न सके पनि विद्युत् सेवा प्रयोग गर्ने ग्राहकले भने धान्न नसक्ने अवस्था आउन सक्छ।

यससँगै यसको जलवायु प्रभाव पनि छ।

इन्टरनेशनल इनर्जी एजेन्सी (आईए) का अनुसार, प्राकृतिक ग्यासको एक क्युबिक फिट जलाउँदा उत्खनन, प्रशोधन र वितरणसमेत जोड्दा वायुमण्डलमा ६० ग्राम कार्बन डाइअक्साइड बराबरको उत्सर्जन हुन्छ।

डाटा सेन्टरबाट बढ्ने अतिरिक्त मागले दैनिक १० लाख मेट्रिक टन थप हरितगृह ग्यास उत्सर्जन गराउनेछ। यो अहिले अमेरिकाबाट हुने कुल हरितगृह ग्यास उत्सर्जनको करिब १२ प्रतिशत बराबर हो।

प्रकाशित: १ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार