ई–जीपी प्रणाली अनिश्चितकालका लागि बन्द भएको छैन: सांसद गजुरेल
Technology Khabar | ३० भाद्र २०८३, मंगलवार
Loading...
Shares
सभापति गजुरेल - पदबहाली
काठमाडौँ, ४ वैशाख ः
प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका नवनिर्वाचित सभापति आशिष गजुरेल शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा पदबहाली गर्नुहुँदै । तस्बिरः नारायण न्यौपाने÷रासस
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सरकारी ठेक्का तथा सार्वजनिक खरिदका लागि प्रयोग हुँदै आएको ई–जीपी प्रणाली अनिश्चितकालका लागि बन्द नभएको बताएका छन्।
गजुरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै प्रणालीमा देखिएको प्राविधिक कमजोरी सुधारका लागि काम भइरहेको र सुधार नहुँदासम्म खरिद प्रक्रिया हार्ड कपीमार्फत सञ्चालन भइरहेको बताएका हुन्।
गजुरेलका अनुसार हालको ई–जीपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी देखिएको छ। एउटा प्रस्तावदाताले अर्को प्रस्तावदाताले पेश गरेको प्रस्ताव हेर्न तथा त्यसमा पहुँच राख्न सक्ने अवस्थासम्मको समस्या देखिएको उनको दाबी छ।
उनले यस्तो कमजोरी पहिचान भएपछि प्रणालीलाई तत्काल सुधार गर्नु आवश्यक रहेको बताएका छन्। प्रस्तावदाताले एकअर्काको प्रस्तावमा पहुँच पाउने अवस्था रहिरहे सार्वजनिक खरिद प्रक्रियामा हुने प्रतिस्पर्धामा नकारात्मक असर पर्ने र मुलुकलाई आर्थिक क्षति हुन सक्ने उनको भनाइ छ।
गजुरेलले ई–जीपी प्रणालीमा समस्या देखिए पनि ठेक्का तथा सार्वजनिक खरिद प्रक्रिया नै रोकिएको भने नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार अहिले टेन्डर खोल्ने, प्रस्ताव बुझाउने, मूल्यांकन गर्ने, छनोट गर्ने तथा करार सम्झौता गर्ने काम हार्ड कपीमार्फत भइरहेको छ।
ई–जीपी प्रणाली पुनः कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने निश्चित मिति भने उनले उल्लेख गरेका छैनन्। प्रणाली सुधारका लागि विज्ञहरूले काम गरिरहेको र सकेसम्म छिटो सुधार गरी ई–जीपी प्रणालीमा फर्किने तयारी भइरहेको उनले बताएका छन्।
निर्माण कार्यलाई प्रभावकारी बनाउन सार्वजनिक खरिद प्रक्रिया पनि प्रभावकारी हुनुपर्ने भन्दै गजुरेलले गलत अभ्यासलाई निरन्तरता दिँदा राष्ट्रलाई दीर्घकालीन हानि पुग्न सक्ने बताएका छन्।
उनले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ई–जीपी प्रणाली यथाशीघ्र पुनः लागू गर्न आग्रह गरेको र त्यसका लागि आफूले सहजीकरण गरिरहेको समेत बताएका छन्।