अब एटीएमबाट १ सय रुपैयाँका नोट पनि पाइने

  • Technology Khabar | ३० भाद्र २०८३, मंगलवार
अब एटीएमबाट १ सय रुपैयाँका नोट पनि पाइने
फाइल तस्बिर

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै अबदेखि एटीएमबाट १ सय रुपैयाँको नोट पनि  वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।

हाल बैंक तथा वित्तीय संस्थाले एटीएमबाट १ हजार र ५ सय रुपैयाँ दरका नोट मात्र वितरण गरिरहेका छन्। यसका कारण ग्राहकले १ सय रुपैयाँ दरका नोटसमेत एटीएमबाट माग गर्ने गरे पनि कतिपय अवस्थामा उपलब्ध नहुने र नजिकैका बैंक तथा वित्तीय संस्थामा भीड बढ्ने गरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार महान् चाडपर्वको अवसरमा १ सय रुपैयाँ दरका नोट एटीएमबाट वितरण गर्न सकिए बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीडसमेत कम गर्न सकिनेछ।

विभागले यस विषयमा केही बैंकहरूसँग मौखिक जानकारी लिएको र प्राविधिक रूपमा व्यवस्था गर्न सकिने जानकारी प्राप्त भएको जनाएको छ। यसबाट आम ग्राहकलाई सुविधा पुग्नुका साथै चाडपर्वका समयमा बैंक तथा वित्तीय संस्थामा हुने भीड व्यवस्थापनमा समेत सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएम मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन सहयोग गर्न अनुरोध गरेको छ।

प्रकाशित: ३० भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...