भोटेकोशी–त्रिशूली बाढीबारे भ्रामक अफवाह नफैलाउन प्रहरीको आग्रह

  • Technology Khabar | २३ भाद्र २०८३, मंगलवार
भोटेकोशी–त्रिशूली बाढीबारे भ्रामक अफवाह नफैलाउन प्रहरीको आग्रह

काठमाडौं ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितका सुरक्षाकर्मी उद्धार, राहत तथा पुनःस्थापनामा निरन्तर खटिइरहेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी विपद्का बेला सुरक्षाकर्मीले जोखिम मोलेर नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, बाढीमा बगेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायत मानवीय कार्य गरिरहेको उल्लेख गरेको छ।

प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफैंले लिएको, वितरण नगरेको र सडाएर राखेको भन्ने आशयका भ्रामक तथा तथ्यहीन अफवाह फैलाइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल प्रहरीले आफूहरूसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको स्पष्ट पारेको छ। विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने, आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना हुने तथा विपद् व्यवस्थापनसम्बन्धी संवेदनशील कार्यसमेत प्रभावित हुने गरी कपोलकल्पित आरोप तथा अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य भएको प्रहरीले जनाएको छ।

प्रहरीले नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सदैव प्रतिबद्ध रहेको जनाएको छ।

यस्तो संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न नेपाल प्रहरीले सबैमा हार्दिक अनुरोध गरेको छ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा आउने सूचना आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र विश्वास तथा प्रसार गर्न आग्रह गरिएको छ।

प्रकाशित: २३ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार