काठमाडौं ।
ह्वाट्सएपले एआईबाट बनाइएका फोटो तथा भिडियो पहिचान गर्न च्यानलमा नयाँ ‘एआई कन्टेन्ट’ लेबल सुविधा ल्याउने भएको छ। यो सुविधा हाल आईओएसका सीमित बिटा परीक्षकका लागि उपलब्ध गराइएको छ।
नयाँ सुविधामार्फत ह्वाट्सएप च्यानलका एडमिनले एआईको प्रयोगबाट सम्पादन गरिएका सामाग्रीमा विशेष लेबल थप्न सक्नेछन्। यसअघि ह्वाट्सएपले यस्तै सुविधा एन्ड्रोइड प्रयोगकर्ताका लागि परीक्षणमा ल्याइसकेको थियो।
च्यानल एडमिनले अपडेटको मेनुमा रहेको ‘एआई कन्टेन्ट’ विकल्पमार्फत फोटो वा भिडियोमा उक्त लेबल थप्न सक्नेछन्। एकपटक लेबल थपिसकेपछि भने त्यसलाई हटाउन नमिल्ने बताइएको छ।
उक्त लेबल च्यानल हेर्ने सबै प्रयोगकर्ताले देख्न सक्नेछन्। च्यानलका अन्य एडमिनलाई पनि एआई सामाग्रीको रूपमा लेबल गरिएको जानकारी उपलब्ध हुनेछ। यो सुविधा एआईबाट पूर्ण रूपमा निर्माण गरिएका वा एआईको सहयोगमा सम्पादन गरिएका फोटो तथा भिडियो दुवैमा लागू हुनेछ।
यसमा मेटा एआई, च्याटजीपीटी र जेमिनीलगायत विभिन्न एआई उपकरण प्रयोग गरेर तयार पारिएका सामाग्री समेत समावेश हुनेछन्। ह्वाट्सएपले केही एआई सामाग्री स्वतः पहिचान गरी लेबल लगाउन सक्नेछ भने च्यानल एडमिनले आवश्यक ठानेमा आफैंले पनि सामाग्रीमा म्यानुअल रूपमा लेबल थप्न सक्नेछन्।
केही देशमा एआईबाट सिर्जना वा परिवर्तन गरिएका सामाग्रीबारे जानकारी दिनुपर्ने कानुनी व्यवस्था रहेकाले त्यस्ता स्थानका च्यानल एडमिनलाई ह्वाट्सएपले ब्यानरमार्फत जानकारीसमेत गराउने बताइएको छ।
यस सुविधाको मुख्य उद्देश्य एआईबाट सिर्जना गरिएका सामाग्री र वास्तविक फोटो वा भिडियोबीचको फरक छुट्याउन प्रयोगकर्तालाई सहज बनाउनु हो। हाल ‘एआई कन्टेन्ट’ लेबल सुविधा सीमित आईओएस बिटा परीक्षकमा मात्र उपलब्ध छ।
परीक्षणको दायरा विस्तारसँगै यो सुविधा थप प्रयोगकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ। सबै प्रयोगकर्ताका लागि यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे ह्वाट्सएपले स्पष्ट जानकारी दिएको छैन।
प्रकाशित: २३ भाद्र २०८३, मंगलवार