काठमाडौं ।
अर्बपति इलन मस्कको ग्रोक बट अब एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ। आईओएस र लिनक्समा उपलब्ध भएको लामो समयपछि मात्र एन्ड्रोइडमा आएको हो।
यो सधैं सक्रिय रहने एआई एजेन्ट हो, जसले प्रयोगकर्ताको निरन्तर सहयोगबिना पनि विभिन्न काम सम्हाल्नुका साथै पूरा गर्न सक्छ। स्पेसएक्स र कर्सरले विकास गरेको यो एआई एजेन्ट विभिन्न प्लेटफर्म र उपकरणमा चल्न सक्छ।
अन्य एआई एजेन्टजस्तै ग्रोक बट पनि प्रयोगकर्तालाई एकैपटक धेरै काम गर्न र कम महत्वपूर्ण कामहरू एआईमार्फत गराउन सहयोग गर्ने उद्देश्यले बनाइएको हो। यसले प्रयोगकर्तालाई महत्वपूर्ण काममा ध्यान केन्द्रित गर्न सहज बनाउँछ।
ग्रोक बटले कसरी काम गर्छ
टेकटू डटकमका अनुसार ग्रोक बट एपभित्र काम गर्न र आफ्नै क्लाउड प्रणालीमा सञ्चालन हुनसक्ने गरी तयार गरिएको छ। एआईमा महत्वाकांक्षी रूपमा अघि बढिरहेका स्पेसएक्स र कर्सरले प्रयोगकर्ताका लागि यसको संस्करण सार्वजनिक गरेका छन्। यो प्ले स्टोरमा पनि उपलब्ध छ। तर ग्रोक बट प्रयोग गर्न सुपरग्रोक वा कर्सरको सदस्यता आवश्यक पर्छ।
उपकरण बन्द रहेको अवस्थामा पनि ग्रोक बटले काम गर्न सक्छ। क्लाउड कम्प्युटरमा फाइल र लगइन पहुँच उपलब्ध हुने भएकाले यस्तो सम्भव भएको हो। प्रयोगकर्ताले फोन वा डेस्कटप संस्करणबाट सन्देश पठाएर बट सक्रिय गर्न सक्छन्।
ग्रोक बटले समूह च्याटमा समेत काम गर्न सक्छ। प्रयोगकर्ताले आफू अन्य काममा व्यस्त हुँदा बटलाई निश्चित काम सम्हाल्न निर्देशन दिन सक्छन्।
विभिन्न प्लेटफर्ममा ग्रोक बट प्रयोग गर्न सुपरग्रोक, सुपरग्रोक प्लस, हेभी, कर्सर प्रो, प्रो प्लस वा अल्ट्रा सदस्यता आवश्यक पर्छ। अन्य प्रयोगकर्ताले पनि चाँडै यसको पहुँच पाउने सम्भावना छ।
यसैबीच, एआईसम्बन्धी अन्य समाचारमा न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीले सहरका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि जेनेरेटिभ एआई उपकरणमा प्रतिबन्ध लगाएका छन्। बालबालिकाले आधारभूत कामका लागि एआईमा निर्भर नभई आफैं सोच्न सकून् भन्ने उद्देश्यले यो नीति ल्याइएको हो।
‘बालबालिकालाई सिक्न र हुर्कन शिक्षक तथा मानवीय सम्बन्ध आवश्यक हुन्छ,’ ममदानीले यसै साता जारी गरिएको प्रेस विज्ञप्तिमा भनेका छन्।
नयाँ नियम न्यूयोर्क सिटी क्षेत्रका सार्वजनिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकामा लागू हुनेछ।
प्रकाशित: २३ भाद्र २०८३, मंगलवार