बेलायती अपरेटर भोडाफोन थ्रीले तहगत सेवाको गुणस्तरमा नयाँ प्रयास गर्दै

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
बेलायती अपरेटर भोडाफोन थ्रीले तहगत सेवाको गुणस्तरमा नयाँ प्रयास गर्दै

काठमाडौं ।

बेलायती टेलिकम अपरेटर भोडाफोन थ्रीले ग्राहकलाई थप शुल्क तिरेर प्रिमियम कनेक्टिभिटी लिन सक्ने सुविधा ल्याएको छ। यस्तो सुविधा ल्याउने मोबाइल अपरेटर निकै कम छन्।

यसलाई सुपरमोबाइल भनिएको छ। यसले नेटवर्क स्लाइसिङ प्रविधि, जसलाई भोडाफोन ले फास्टट्र्याक नाम दिएको छ, र कम्पनीको फाइभजी स्ट्यान्डअलोन (एसए) नेटवर्क प्रयोग गर्छ। यसमार्फत हरेक महिना केही थप शुल्क तिर्न सक्ने ग्राहकले चार गुणासम्म बढी इन्टरनेट स्पिड पाउन सक्नेछन्।

भोडाफोनले आफूलाई स्पिडको ग्यारेन्टी दिने विश्वकै पहिलो मोबाइल अपरेटर भएको पनि दाबी गरेको छ। ग्राहकले कम्तीमा १५ एमबीपीएस स्पिड नपाएमा कुनै अतिरिक्त शुल्क नतिरी सेवा छोड्न सक्नेछन्। सुपरमोबाइल ग्राहकका साथै व्यावसायिक प्रयोगकर्ताका लागि पनि उपलब्ध हुनेछ। यसले यात्राका क्रममा भिडियो बैठकलगायतका काम गर्न उपयोगी हुने कम्पनीको भनाइ छ।

भोडाफोन थ्रीका प्रमुख कार्यकारी अधिकृत म्याक्स टेलरले भने, “भोडाफोन सुपरमोबाइल ले भोडाफोन र थ्री को मर्जरबाट के सम्भव हुन्छ भन्ने देखाएको छ। यसले ग्राहकका लागि राम्रो कनेक्टिभिटी र छनोटको सुविधा दिन्छ। बेलायतलाई अझ तीव्र गति चाहिएको छ र देशकै ठूलो तथा उत्कृष्ट स्पेक्ट्रम होल्डिङ तथा ११ अर्ब पाउन्डको लगानीमार्फत हामी अरूभन्दा छिटो र उच्च गुणस्तरको नेटवर्क निर्माण गर्नेछौं।”

उनले सुपरमोबाइल तीव्र, भरपर्दो र सुरक्षित रहेको बताउँदै यात्राका क्रममा सामग्री हेर्ने उपभोक्ता, एआई एप्लिकेसन प्रयोगकर्ता तथा डिजिटल रूपान्तरणबाट लाभ लिन चाहने व्यवसायका लागि उपयोगी हुने बताए।

सुपरमोबाइल भोडाफोनका सबै मासिक भुक्तानी योजनामा वैकल्पिक सुविधाका रूपमा उपलब्ध छ। योजनाअनुसार यसको शुल्क फरक हुनेछ।

प्रिमियम एक्स्ट्रा योजनाका ग्राहकले प्रतिमहिना थप ३ पाउन्ड तिर्नुपर्नेछ। ह्यान्डसेटसहितको १०० एमबीपीएस योजनामा रहेका ग्राहकले ४ पाउन्ड तिर्नुपर्नेछ भने सिम मात्र प्रयोग गर्ने ग्राहकले ८ पाउन्ड तिर्नुपर्नेछ। त्यस्तै, सुपरमोबाइल लाई प्रतिमहिना १२ पाउन्डमा पनि प्रयोग गर्न सकिनेछ।

टेलिकम्स डटकमका अनुसार मोबाइल तुलना सेवा यूस्विचका मोबाइल विशेषज्ञ अर्नेस्ट डोकुले नेटवर्कमा भीडभाडको समस्या कति पटक आउँछ भन्ने आधारमा यो सेवा किन्नु उचित हुने बताए।

“शुल्क नतिरी सेवा छोड्न सकिने ग्यारेन्टीसहितको यो सुविधा भोडाफोन ले आफ्नो नयाँ नेटवर्कको क्षमतामा विश्वास गरेको संकेत हो,” उनले भने।

उनका अनुसार व्यस्त स्थानमा नियमित रूपमा यात्रा गर्ने, स्ट्रिमिङ गर्ने वा मोबाइल हटस्पट प्रयोग गर्ने ग्राहकका लागि सुपरमोबाइल बढी उपयोगी हुन सक्छ। तर धेरै ग्राहकले शुल्क तिर्नुपर्ने स्तरको समस्या विरलै महसुस गर्न सक्छन्। उनले उपभोक्तालाई सबैभन्दा खराब अवस्थालाई नभई दैनिक प्रयोगको अनुभवका आधारमा सेवा लिन सुझाव दिएका छन्।

सुपरमोबाइल प्रतिस्पर्धी कम्पनी ईईको फास्टलेनभन्दा व्यापक देखिन्छ। ईईले गत महिना फास्टलेन सुरु गरेको थियो र हाल यो प्रिमियम ह्यान्डसेट योजनामा मात्र थप सुविधाका रूपमा उपलब्ध छ।

तर फाइभजी एसए नेटवर्कको पहुँचमा भने ईई अगाडि छ। ईईको नेटवर्क हाल ७८ प्रतिशत जनसंख्यामा पुगेको छ भने भोडाफोनथ्री को पहुँच ६० प्रतिशतमा छ। ईई ले सन् २०३० मार्चको अन्त्यसम्म ९९ प्रतिशत जनसंख्यामा फाइभजी एसए पुर्‍याउने योजना बनाएको छ। भोडाफोनथ्री ले भने सन् २०३४ सम्म ९९.९६ प्रतिशत जनसंख्यामा पहुँच पुर्‍याउने योजना बनाएको छ।

सीसीएस इन्साइटका उपभोक्ता तथा कनेक्टिभिटी निर्देशक केस्टर म्यानका अनुसार फास्टलेन र अहिले सुपरमोबाइल को सुरुवातले बेलायतको मोबाइल बजारमा महत्वपूर्ण परिवर्तन देखाएको छ।

उनले भने, “थप शुल्क लिएर भोडाफोनथ्री ले नयाँ मोबाइल प्रविधिमा गरेको ठूलो लगानीबाट आम्दानी गर्ने नयाँ बाटो खोजिरहेको छ। प्रिमियम मूल्य निर्धारण अपरेटरका लागि सधैं सफल भएको छैन। तर कनेक्टेड रहनुपर्ने बढ्दो आवश्यकता, एआईको नयाँ प्रयोग र सामग्रीको बढ्दो मागका कारण यसको योजनाले राम्रो चासो पाउने देखिन्छ।”

उनका अनुसार सुपरमोबाइल ले मोबाइल बजारको प्रवेश तहमा तीव्र प्रतिस्पर्धाका कारण भइरहेको मूल्य कटौतीको प्रवृत्तिको विकल्प पनि दिएको छ। उनका अनुसार उद्योगले प्रतिस्पर्धीभन्दा सस्तो मूल्य दिनेभन्दा दिगो वृद्धिका लागि नयाँ मूल्य सिर्जना गर्न ध्यान दिन आवश्यक छ।

सुपरमोबाइल र फास्टलेन जस्ता सेवामा अन्तिम प्रयोगकर्ताको चासो हुने सम्भावना देखिन्छ।

एरिक्शनको कन्जुमरल्याबले केही वर्षअघि ३७ हजार मानिसमा गरेको सर्वेक्षणमा फाइभजी स्मार्टफोन प्रयोगकर्तामध्ये २० प्रतिशतले नेटवर्कको गुणस्तरलाई विभिन्न तहमा विभाजन गरिएको सेवा प्रयोग गर्न चासो देखाएका थिए। उनीहरू त्यसका लागि ११ प्रतिशतसम्म अतिरिक्त शुल्क तिर्न तयार रहेको सर्वेक्षणले देखाएको थियो।

यसैबीच, भोडाफोनथ्री ले कन्भर्ज्ड सेवा बजारमा प्रवेश गर्ने योजना पनि सार्वजनिक गरेको छ।

कम्पनीले भोडाफोन टीभी नामको टेलिभिजन सेवा ल्याउने तयारी गरेको छ। अक्टोबरदेखि उपलब्ध हुने यस सेवामा लाइभ तथा अन–डिमान्ड टेलिभिजन र नेटफ्लिक्स तथा एचबीओ लगायतका स्ट्रिमिङ एपहरू समावेश हुनेछन्। घरभित्र टेलिभिजन हेर्नका लागि हबका रूपमा काम गर्नुका साथै यसमा यात्राका क्रममा सामग्री हेर्न मिल्ने मोबाइल एप पनि हुनेछ।

यो बजारमा ईई, भर्जिनमिडिया ओटू (भीएमओटू) र स्काईजस्ता कम्पनीले पनि यस्तै सेवा दिइरहेका छन्। तर भोडाफोन टीभीको विशेषता भनेको यो होम ब्रोडब्यान्ड, फिक्स्ड–वायरलेस एक्सेस (एफडब्लूए) र मोबाइल योजनामा उपलब्ध हुनेछ। त्यसका लागि प्रयोगकर्ता फिक्स्ड–लाइन ग्राहक नै हुनुपर्ने छैन।

सुपरमोबाइल र फास्टलेनजस्ता सेवाको सफलता निश्चित नभए पनि लामो समयदेखि फाइभजी एसए को मूल्यबारे चर्चा गर्दै आएको दूरसञ्चार उद्योगका केही कम्पनीले अहिले यस प्रविधिका लागि शुल्क तोक्न थालेको देखिनु सकारात्मक भएको बताइएको छ।

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार