काठमाडौं ।
नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामरा’ जडान गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ।
अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र प्रभावकारी बनाउन यो प्रविधि उपयोगी हुने विश्वास लिएको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए।
हाल गणले दुई थान ‘गोप्रो क्यामरा’ सञ्चालनमा ल्याएको उनले जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य अपराध नियन्त्रणमा क्यामराको प्रयोगले सहयोग पुग्ने उनको विश्वास छ।
सशस्त्र प्रहरीको प्रविधिमैत्री र सक्रिय परिचालनले सीमावर्ती क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ भने स्थानीय जनताले शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन्।-रासस
प्रकाशित: १८ भाद्र २०८३, बिहीबार