नेटवर्क अटोमेशनसम्बन्धी अनुसन्धान तथा विकासमा नोकियाले साउदी अरबसँग साझेदारी गर्ने

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
नेटवर्क अटोमेशनसम्बन्धी अनुसन्धान तथा विकासमा नोकियाले साउदी अरबसँग साझेदारी गर्ने
फाइल तस्बिर

काठमाडौं ।

फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता नोकियाले साउदी अरबमा नयाँ अनुसन्धान तथा विकास (आरएन्डडी) केन्द्र सञ्चालनमा ल्याएको छ। यो केन्द्र साउदी अरबको ‘साउदी भिजन २०३०’ रणनीतिलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो।

आरएन्डडी केन्द्र साउदी अरबको राजधानी रियादमा रहेको छ। यो देशमा नोकियाको पहिलो यस्तो लगानी हो। नोकियाको घोषणामा ‘साउदी भिजन २०३०’ र ‘मेड इन साउदी’ जस्ता साउदीका रणनीतिक पहलहरूको धेरै उल्लेख गरिएको छ। यसबाट नोकियालाई यो कदम चाल्न पर्याप्त प्रोत्साहन मिलेको अनुमान गर्न सकिन्छ।

यस केन्द्रमार्फत विकास गरिने प्रविधिमा सेवा व्यवस्थापन तथा सञ्चालन, आफैं व्यवस्थित हुने नेटवर्क र स्वचालन तथा ऊर्जा दक्षताका लागि आरएप्स समावेश छन्। यी सबै प्रविधिलाई ‘एआई–पावर्ड’ अर्थात् कृत्रिम बुद्धिमत्तामा आधारित भनिएको छ। यसका साथै नोकियाले ‘एआई–नेटिभ ६जी प्रविधि’को समेत अध्ययन गर्नेछ।

टेलिकम्स डटकमका अनुसार साउदीका दूरसञ्चार तथा डिजिटल पूर्वाधार उपमन्त्री अब्दुलरहमान अलमुफद्दाले भने, “नोकियाको नयाँ अनुसन्धान तथा विकास केन्द्रको उद्घाटनले बुद्धिमान नेटवर्क प्रविधिको नवप्रवर्तनका लागि साउदी अरबको विश्वव्यापी केन्द्रका रूपमा रहेको स्थानलाई बलियो बनाउने रणनीतिक कदमलाई प्रतिनिधित्व गर्छ। यसले ज्ञान र नवप्रवर्तनमा आधारित डिजिटल अर्थतन्त्र निर्माण गर्ने साउदी भिजन २०३० को महत्वाकांक्षालाई पनि प्रतिबिम्बित गर्छ।”

नोकियाका मध्यपूर्व तथा अफ्रिका क्षेत्रका अध्यक्ष मिक्को लावान्तीले भने, “रियादमा रहेको हाम्रो नयाँ आरएन्डडी केन्द्रले नोकियाको विश्वव्यापी विशेषज्ञता र साउदी प्रतिभालाई एक ठाउँमा ल्याउनेछ। यसबाट नेटवर्कलाई अझ स्वचालित, प्रभावकारी र प्रतिक्रियाशील बनाउने एआईमा आधारित स्वचालन प्रविधिको विकास गरिनेछ। यसले साउदी अरब तथा विश्वभरका ग्राहकका लागि कनेक्टिभिटीसम्बन्धी नवप्रवर्तनमा साउदी अरबको भूमिकालाई पनि बलियो बनाउनेछ।”

नोकियाको विज्ञप्तिमा उल्लेख नगरिए पनि यो घोषणा रियादमै भइरहेको ठूलो प्रविधि व्यापार प्रदर्शनी ‘लिप’को दोस्रो दिन गरिएको संयोग मात्र नभएको अनुमान गर्न सकिन्छ। नोकियाको प्रतिस्पर्धी एरिक्सनले भने उक्त कार्यक्रममा साउदीको दूरसञ्चार कम्पनी समूह मोबिलीसँग भएको समझदारीपत्र (एमओयू)को घोषणा गर्दा यसको सन्दर्भलाई थप स्पष्ट पारेको थियो।

नोकियाले नेटवर्कका सकेसम्म धेरै क्षेत्रमा एआई प्रयोग गर्ने उपायको समेत अध्ययन गर्नेछ। यसअन्तर्गत आरएएन कम्प्युट, रेडियो र सक्रिय एन्टेना प्रणालीमा सञ्चालन हुने आरएएन सफ्टवेयरका कार्यहरू समावेश हुन सक्छन्। साथै, ईआईएपी प्लेटफर्ममा आरएप्समार्फत सञ्चालन हुने केन्द्रीकृत एआई प्रयोगका विषयमा पनि काम गरिनेछ। यसले साउदी भिजन २०३० अन्तर्गतको एआईसम्बन्धी महत्वाकांक्षालाई पनि सहयोग गर्नेछ।

एरिक्सन र मोबिलीले जारी गरेको छुट्टै विज्ञप्तिमा भने एआईमा मात्र केन्द्रित नभई अर्को समझदारीपत्रको समेत उल्लेख गरिएको छ। उक्त समझदारीअनुसार निश्चित परिस्थितिमा मोबिलीको नेटवर्कलाई ‘लेभल ४ नेटवर्क स्वायत्तता’मा पुर्‍याउने लक्ष्य हासिल गर्न सहकार्य गरिनेछ। नेटवर्क व्यवस्थापन तथा अनुकूलनमा एआईमा आधारित र लक्ष्यअनुसार आफैं सञ्चालन हुने प्रणाली विकास गर्ने विषयलाई यसमा प्राथमिकता दिइएको छ।-रासस

 

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार