बाढी प्रभावित सबै १२० स्थानमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सुचारु

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
बाढी प्रभावित सबै १२० स्थानमा नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा पूर्ण रूपमा सुचारु

काठमाडौं ।

नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ।

गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा नेपाल टेलिकमका टावरमार्फत प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनःसुचारु गर्ने कार्यमा खटिएपछि साइटहरू सञ्चालनमा आएका हुन्।

सो कार्यका लागि बाढीका कारण सडक तथा विद्युत् सेवा अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराई सेवा सुचारु गरिएको थियो।

गत भदौ १४ गते नेपाल–चीन सीमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत तथा उद्धार कार्य सञ्चालन भएका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो।

बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरू अवरुद्ध भएका थिए भने तीनवटा साइट—टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट—पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

नेपाल टेलिकमले मिति हिजो बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार, थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमका सबै साइटहरू सुचारु भएका हुन्।

पूर्ण रूपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध सेवाहरू हाल अन्य साइटबाट उपलब्ध गराइएका छन्। मोबाइल सेवाको थप प्रभावकारिताका लागि उक्त क्षतिग्रस्त साइटहरूलाई प्राथमिकतामा राखी पुनर्निर्माण गरी सञ्चालनमा ल्याइने छ।

भदौ १० गते बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिकहरू साइट सुचारु कार्यका लागि निरन्तर रूपमा खटिएका थिए।

भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायतका उपकरणहरू पठाई सेवा सुचारु गरिएको थियो। रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो।

यसैगरी भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरू खटाई सेवा सुचारु गरिएको थियो।

नुवाकोट जिल्लाअन्तर्गतको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारीहरू परिचालन गरी सेवा सुचारु गरिएको थियो।

भदौ १३ गते रसुवाको त्रिशूली ३‘ए’ सँगै रहेको टावर, रसुकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावर तथा नुवाकोट जिल्लाको बुङताङमा रहेको टावरसमेत सञ्चालनमा ल्याइएको थियो। यीबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सुचारु भएका थिए। यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए।

कम्पनीका अनुसार भदौ १४ गते थप सात स्थानमा सेवा सुचारु गरियो जसमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सीमामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ साइटहरू रहेका थिए। त्यसैगरी, नुवाकोटको चारघरे तथा चारघरे मुलाबारी साइट रहेका थिए।

रसुवा बोर्डर बीटीएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनःसञ्चालनमा आएका थिए। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइटहरू सञ्चालनमा ल्याइएका थिए।

भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरिएको थियो।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरू अनवरत रूपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारीहरू परिचालन गरिएको थियो तथा हालसम्म पनि विद्युत् आपूर्ति नियमित नभएका साइटहरू जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन्।

कतिपय स्थानका साइटहरू विद्युत् सेवा आपूर्तिको सहजतासँगै स्वतः सञ्चालनमा आएका छन् र फोरजी सेवाको प्रभावकारितासमेत वृद्धि हुँदै गएको छ।

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार