‘केवाईसी अपडेट’ का नाममा ठगी गर्ने गिरोहमाथि पक्राऊपछि अनुसन्धान जारी, प्रयोग गर्ने गरेका मोबाइल नम्बर सार्वजनिक

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
‘केवाईसी अपडेट’ का नाममा ठगी गर्ने गिरोहमाथि पक्राऊपछि अनुसन्धान जारी, प्रयोग गर्ने गरेका मोबाइल नम्बर सार्वजनिक
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकको कर्मचारी भएको भन्दै ग्राहकलाई फोन गरेर ‘केवाईसी अपडेट’का नाममा ठगी गर्ने चार जनालाई पक्राऊ गरी आवश्यक अनुसन्धान गरिरहेको छ। ब्यूरोका अनुसार पक्राऊ पर्नेमा अभय तिवारी, विद्या सागर केवट, जय कुमार केवट र कुबेर थापा छन्।

साइबर ब्यूरोमा दर्ता भएको विद्युतीय माध्यमसम्बन्धी ठगी मुद्दाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ। ब्यूरोले आज जारी गरेको प्रेस विज्ञप्तिमा पक्राउ परेका व्यक्तिहरूले बैंकको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई सम्पर्क गर्ने गरेको उल्लेख छ।

उनीहरूले ‘म बैंकको कर्मचारी हुँ, तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ, केवाईसी अपडेट नगरे बैंक खाता बन्द हुन्छ’ भन्दै सर्वसाधारणलाई ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि उनीहरूले ह्वाट्सएपमा स्क्रिन सेयर गर्न लगाएर मोबाइल बैंकिङको पासवर्ड र ओटीपीसमेत लिने र बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गर्ने गरेको पाइएको साइबर ब्यूरोले जनाएको छ।

उनीहरुले प्रयोग गर्ने गरेको मोबाइल नम्बरहरु:

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको साथबाट मोबाइल तथा सिमकार्ड बरामद गरिएको र ती सिमकार्ड तथा ह्वाट्सएप नम्बरहरू ठगीमा प्रयोग भएको देखिएको ब्यूरोले जनाएको छ। ती नम्बरबाट आफूलाई बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै ग्राहकलाई झुक्याउने गरिएको पाइएको प्रहरीको भनाइ छ।

साइबर ब्यूरोका अनुसार ठगीमा संलग्नहरूले फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गरी केवाईसी अपडेट, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर माग गर्ने गरेका छन्। यस्ता माध्यमबाट सम्पर्क गरी आर्थिक हानि वा नोक्सानी भएको भए साइबर ब्यूरोमा जाहेरी दरखास्त दिन पनि प्रहरीले आग्रह गरेको छ।

साइबर ब्यूरोले यसअघि पनि ओटीपी अरूलाई दिँदा बैंकिङ वा सामाजिक सञ्जाल खाता ह्याक हुन सक्ने भन्दै सचेत गराउँदै आएको छ। ब्यूरोको वेबसाइटमा समेत ओटीपी ठगीलाई सामान्य साइबर ठगीको स्वरूपका रूपमा उल्लेख गरिएको छ।

पछिल्लो समय केवाईसी अपडेटका नाममा बैंकबाट फोन गरेको भन्दै ठगी गर्ने घटना बढेपछि प्रहरीले यस विषयमा छुट्टै सचेतना र कारबाही अघि बढाएको हो। साइबर ब्यूरोले हालै सार्वजनिक गरेको सूचनामा पनि केवाईसी अपडेटको नाममा ठगी गर्ने समूह पक्राउ परेको जानकारी दिएको छ।

प्रहरीले बैंक वा वित्तीय संस्थाको कर्मचारी भन्दै फोन गर्ने व्यक्तिलाई विश्वास गरेर ओटीपी, पासवर्ड, कार्डसम्बन्धी गोप्य विवरण वा मोबाइल बैंकिङको स्क्रिन सेयर नगर्न आग्रह गरेको छ। कुनै सेवा अपडेट गर्नुपर्ने भए सम्बन्धित बैंकको आधिकारिक शाखा, वेबसाइट वा आधिकारिक सम्पर्क माध्यमबाट मात्र यकिन गर्न प्रहरीले सुझाव दिएको छ।

*हेडलाइन सम्पादित

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार