हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न दूरसञ्चार प्राधिकरणको आग्रह

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
हृदयविदारक तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले विपद्का क्रममा मृत्यु, घाइते तथा प्रभावित व्यक्तिसँग सम्बन्धित हृदयविदारक तस्बिर, भिडियो तथा संवेदनशील सामग्री सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममा प्रकाशन तथा पुनःप्रकाशन नगर्न आग्रह गरेको छ।

प्राधिकरणले भदौ हालै एक विज्ञप्ति जारी गरी विपद्का घटनासँग सम्बन्धित मानवीय रूपमा संवेदनशील सूचना, तस्बिर तथा भिडियो सन्देश प्रसारण तथा प्रकाशन नगर्न अनुरोध गरेको हो।

प्राधिकरणले विशेषगरी हृदयविदारक प्रकृतिका तस्बिर तथा भिडियो सामग्री सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा नराख्न आग्रह गरेको छ। विपद्को समयमा सार्वजनिक हुने यस्ता सामग्रीले पीडित तथा उनीहरूका परिवारमा थप मानसिक पीडा पुग्न सक्ने भएकाले मानवीय संवेदनशीलता कायम गर्न प्राधिकरणले अनुरोध गरेको हो।

यसपटक दूरसञ्चार क्षेत्रको नियामक निकायले समेत यस्तो आग्रह गर्नुको अर्थ सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट हुने सूचना प्रवाह विपद् व्यवस्थापनको महत्वपूर्ण हिस्सा बन्दै गएको देखिनु हो।

दूरसञ्चार तथा इन्टरनेटको पहुँच विस्तारसँगै घटनास्थलबाट खिचिएका तस्बिर तथा भिडियो तत्काल सामाजिक सञ्जालमा पुग्ने गरेका छन्। तर सबै सामग्री सार्वजनिक गर्नु उपयुक्त नहुने भन्दै सरकारी निकायहरूले संवेदनशील सामग्रीको प्रकाशनमा संयमता अपनाउन आग्रह गरिरहेका छन्।

यसअघि सूचना तथा सञ्चार मन्त्रालयले पनि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको प्राकृतिक विपद्सँग सम्बन्धित मानवीय रूपमा संवेदनशील तस्बिर, भिडियो तथा अपुष्ट सूचना प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको थियो।

मन्त्रालयले विपद्का बेला भयावह तथा मानसिक रूपमा विचलित बनाउने सामग्री अपलोड, शेयर, पोस्ट वा रिपोस्ट नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न आग्रह गरेको थियो।

नेपाल प्रहरीले पनि विपद्का बेला सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा जोड दिएको छ। रसुवाको भोटेकोशी बाढीपछि प्रहरीले राहत तथा सहयोगको नाममा हुने साइबर ठगीबाट सचेत रहन आग्रह गर्दै सामाजिक सञ्जालमा फैलाइने फर्जी राहत अभियान, क्यूआर कोड, लिंक तथा आर्थिक सहयोगसम्बन्धी अपुष्ट सामग्रीप्रति सावधानी अपनाउन भनेको छ।

यसले विपद्का घटनाबारे सूचना नै नदिन खोजिएको नभई पीडितको सम्मान र गोपनीयता जोगाउँदै तथ्यपरक सूचना दिनुपर्ने सन्देश दिएको छ। घटनाको वास्तविक अवस्था, उद्धार तथा राहतसम्बन्धी उपयोगी सूचना सार्वजनिक गर्नु आवश्यक भए पनि मृत्यु, घाइते अवस्था वा पीडितको पहिचान खुल्ने हृदयविदारक तस्बिर तथा भिडियो ‘भ्युज’ वा ‘सेयर’का लागि सार्वजनिक नगर्न सरकारी निकायहरूले आग्रह गरेका छन्।

 

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...