गुगलको एन्ड्रोइड अपडेटसँगै ल्यायो मोसन सिकनेस, पहुँचयोग्यता र थप सुविधामा सुधार

  • Technology Khabar | १८ भाद्र २०८३, बिहीबार
गुगलको एन्ड्रोइड अपडेटसँगै ल्यायो मोसन सिकनेस, पहुँचयोग्यता र थप सुविधामा सुधार
तस्बिर: टेलिग्राफ

काठमाडौं ।

गुगलले मंगलबार एन्ड्रोइड फोनलाई अझ पहुँचयोग्य, उपयोगी र व्यक्तिगत बनाउन पाँच नयाँ अपडेट सार्वजनिक गर्ने घोषणा गरेको छ।

ब्लग पोस्टमार्फत घोषणा गरिएका यी सुविधामा मोसन सिकनेस कम गर्ने, दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्तालाई वरपरको वातावरण बुझ्न सहयोग गर्ने, प्रयोगकर्ताले महत्वपूर्ण सामान कहाँ राखेका छन् भन्ने सम्झन सहयोग गर्ने र गुगल मेसेजमा थप व्यक्तिगत सुविधा दिने विकल्प छन्।

यीमध्ये केही सुविधामा गुगलले यसअघि नै आईफोन प्रयोगकर्ताका लागि यस्तै सुविधा उपलब्ध गराएको एप्पललाई पछ्याएको देखिन्छ। अन्य केही सुविधामा भने गुगलले जेमिनीको प्रयोग गरेर विभिन्न सुधार ल्याएको छ।

टेकक्रञ्चका अनुसार सबैभन्दा रोचक अपडेट ‘मोसन असिस्ट’ हो। यो सुविधा चलिरहेको सवारीसाधनमा फोन प्रयोग गर्दा मोसन सिकनेस हुने मानिसलाई सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। यसले स्क्रिनमा एउटा बबल देखाउँछ, जुन सवारीसाधनको चालअनुसार चल्छ। यसले प्रयोगकर्ताले स्क्रिनमा देखेको कुरा र शरीरले महसुस गरेको चालबीचको फरक कम गर्न सहयोग गर्छ।

यद्यपि यो अवधारणा पूर्ण रूपमा नयाँ भने होइन। एप्पलले सन् २०२४ मै आईफोनका लागि ‘भेहिकल मोसन क्युज’ सुविधा ल्याएको थियो। यसले स्क्रिनको किनारामा देखिने एनिमेटेड थोप्लाहरूलाई सवारीसाधनको चालअनुसार चलाउँछ।

प्रयोगकर्ताले ‘मोसन असिस्ट’लाई स्वचालित रूपमा सञ्चालन हुने गरी सेट गर्न, क्विक सेटिङमा थप्न तथा बबलको आकार, रङ र पारदर्शिता आफूअनुसार परिवर्तन गर्न सक्नेछन्। गुगलका अनुसार यो सुविधा एन्ड्रोइड १७ प्रयोगकर्ताका लागि उपलब्ध छ।

गुगलले दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्तालाई लक्षित गर्दै ‘गाइडेड भिजन’ सुविधा पनि ल्याउँदैछ। यसले फोनको क्यामेरा र जेमिनीलाई संयोजन गरेर खानाको लेबलमा लेखिएको सानो अक्षर पढ्ने, अँध्यारो रेस्टुरेन्टमा मेनु हेर्ने वा घर वरपरका वस्तु पहिचान गर्नेजस्ता काममा सहयोग गर्छ।

क्यामेरा सही दिशामा नरहेको अवस्थामा यो सुविधाले आवाजमार्फत पनि मार्गदर्शन दिन सक्छ। यसले प्रयोगकर्तालाई फोन सार्न, वरपर क्यामेरा घुमाउन वा कुनै वस्तुलाई स्क्रिनको बीचमा राख्न निर्देशन दिन सक्छ। जेमिनी उपलब्ध रहेका देशमा एन्ड्रोइड ९ वा त्यसपछिका संस्करण चल्ने फोनमा ‘गाइडेड भिजन’ उपलब्ध हुनेछ।

अर्को अपडेटमार्फत जेमिनीले प्रयोगकर्तालाई महत्वपूर्ण सामान कहाँ राखेको सम्झन नयाँ तरिकाले सहयोग गर्नेछ। फाइन्ड हबमा रहेको ‘रिमेम्बर्ड आइटम्स’ सेक्सनमार्फत प्रयोगकर्ताले आफूले कुनै सामान कहाँ राखेको भनेर जेमिनीलाई बताउन सक्नेछन्।

उदाहरणका लागि, प्रयोगकर्ताले आफ्नो पासपोर्ट सुत्ने कोठाको दराजमा राखेको बताएमा जेमिनीले उक्त जानकारी फाइन्ड हबमा सुरक्षित गर्न सक्छ। पछि सामान पहिचान गर्न सजिलो होस् भनेर प्रयोगकर्ताले त्यसको फोटोसमेत राख्न सक्नेछन्।

यसका साथै, गुगलले गुगल मेसेजमा गुगल किपको एकीकरण थप्दैछ। यसबाट मानिसहरूले कुराकानीकै क्रममा किनमेलका सामानको सूची, बिदासम्बन्धी नोट र अन्य जानकारी साझा तथा सम्पादन गर्न सक्नेछन्।

गुगल मेसेजमा थप व्यक्तिगत बनाउने विकल्प पनि थपिँदैछ। प्रयोगकर्ताले छुट्टाछुट्टै च्याटमा पृष्ठभूमि, फोटो र रङ परिवर्तन गर्न सक्नेछन्। गुगलका अनुसार टेक्स्ट बबलको रङ पनि त्यसअनुसार स्वतः मिल्नेछ।

प्रकाशित: १८ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार