काठमाडौं ।
नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा नवप्रवर्तकलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मञ्चमा पुर्याउने उद्देश्यले आईसीटी अवार्ड र नास आईटीबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
आईसीटी अवार्ड मार्फत राष्ट्रिय स्तरमा पहिचान भएका उत्कृष्ट प्रविधि तथा नवप्रवर्तनलाई एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित एपिक्टा अवार्ड सहभागी गराउन आवश्यक सहजीकरण र मार्गदर्शन उपलब्ध गराउन सहकार्य गरिएको हो।
समझदारीअनुसार आईसीटी अवार्डमा सहभागी तथा विजेता भएका योग्य कम्पनी, स्टार्टअप र नवप्रवर्तकलाई एपिक्टा अवार्डका लागि आवश्यक योग्यता तथा विधा छनोट, आवेदन र मनोनयन प्रक्रिया, प्रस्तुति तयारीलगायत विषयमा सहयोग गरिनेछ। यससँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्वरूप बुझ्न र आफ्ना प्रविधि तथा उत्पादनलाई विश्वस्तरीय मञ्चमा प्रस्तुत गर्न आवश्यक तयारीमा समेत सहजीकरण गरिने कम्पनीले बताएको छ।
आईसीटी फाउन्डेसन नेपालका अध्ययक्ष राजन लम्सालले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रविधि तथा नवप्रवर्तन पहिचान गरेपछि त्यसलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्नु आईसीटी अवार्डको यात्राको स्वाभाविक अर्को चरण भएको बताए।
‘आईसीटी अवार्डले नेपालमा भइरहेका उत्कृष्ट प्रविधि र नवप्रवर्तनलाई पहिचान गर्ने काम गर्दै आएको छ। अब ती उपलब्धिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर विस्तार गर्नु आवश्यक छ। एपिक्टा सम्म पुग्ने प्रक्रियामा आवश्यक सहजीकरण गर्न सकिए नेपाली प्रतिभाले आफ्नो क्षमता अझ व्यापक रूपमा प्रस्तुत गर्न सक्छन्,’ लम्सालले भने।
नास आईटीका अध्ययक्ष दिपेन चापागाईंले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुनु भनेको अवार्ड प्राप्त गर्ने प्रयास मात्र होइन, विश्व बजारमा आफ्नो उत्पादन र क्षमताको पहिचान बनाउने अवसर पनि हो। नेपाली कम्पनी तथा स्टार्टअपलाई यस्ता अवसरसँग जोड्न संस्थागत सहकार्य महत्वपूर्ण हुन्छ । यस पहलले उनीहरूलाई अन्तर्राष्ट्रिय इकोसिस्टमसँग नजिकबाट जोडिन मद्दत गर्नेछ।’
नास आईटीका पूर्व अध्यक्ष गौरव राज पाण्डेले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा सहभागी हुँदा नेपाली प्रविधि क्षेत्रको क्षमता विश्वसामु प्रस्तुत हुने बताए। उनका अनुसार यस्ता मञ्चले नेपाली कम्पनीलाई आफ्नो समाधानको अन्तर्राष्ट्रिय मापदण्डसँग तुलना गर्दै सुधारका सम्भावना पहिचान गर्ने अवसर समेत दिन्छन्।
‘नेपाली प्रविधि क्षेत्रले पछिल्ला वर्षमा उल्लेख्य प्रगति गरेको छ। अब हाम्रो ध्यान आफ्ना उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै विश्वस्तरीय मापदण्डसँग प्रतिस्पर्धा गर्नेतर्फ केन्द्रित हुनुपर्छ। एपिक्टा जस्ता मञ्चमा नेपाली कम्पनी र नवप्रवर्तकको सहभागिता बढ्नुले उनीहरूको क्षमता प्रदर्शनसँगै नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न सहयोग पुग्नेछ,’ पाण्डेले भने।
आईसीटी अवार्ड र नास आईटीबीचको यो सहकार्यले नेपालमा पहिचान भएका प्रविधि तथा नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुर्याउने एउटा संस्थागत संयन्त्र निर्माण गर्ने अपेक्षा गरिएको छ। यसबाट नेपाली कम्पनी तथा स्टार्टअपले अन्तर्राष्ट्रिय अवार्ड प्रक्रियामा सहभागी हुने अनुभव हासिल गर्नुका साथै आफ्ना प्रविधि समाधानलाई विश्वस्तरमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।
प्रकाशित: १७ भाद्र २०८३, बुधबार