काठमाडौं ।
चीनको चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको स्वचालन अनुसन्धान संस्थानले वैज्ञानिक अनुसन्धानसँग सम्बन्धित तथ्याङ्कको खुला साझेदारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ अन्तर्राष्ट्रिय शैक्षिक पत्रिका सुरु गरेको छ।
संस्थानका अनुसार नयाँ पत्रिकाले विश्वभरका अनुसन्धानकर्ताका लागि उच्चस्तरीय, बहुविषयगत, खुला पहुँच तथा सहकर्मी मूल्याङ्कनमा आधारित शैक्षिक आदानप्रदानको मञ्च उपलब्ध गराउनेछ।
पत्रिकामा तथ्याङ्कसम्बन्धी लेख, नमुनासम्बन्धी लेख, अनुसन्धानसम्बन्धी लेख, समीक्षा, तथ्याङ्क तथा नमुना अद्यावधिक, साथै समाचार, विचार तथा टिप्पणी गरी छ वटा मुख्य खण्ड रहनेछन् । यस पत्रिकाको अनुसन्धान क्षेत्र कम्प्युटर विज्ञान, गणित, तथ्याङ्क, चिकित्सा लगायत विभिन्न विषयमा फैलिएको छ।
यसले वैज्ञानिक अनुसन्धानका सामग्री उत्पादनदेखि प्रकाशन तथा त्यसपछि हुने अद्यावधिकसम्मको सम्पूर्ण प्रक्रियालाई समेट्नेछ ।
संस्थानका अनुसार पत्रिकाले तथ्याङ्क, अनुसन्धान, प्रयोग तथा तथ्याङ्क व्यवस्थापनलाई एउटै शृङ्खलामा जोड्दै उच्च गुणस्तरीय वैज्ञानिक तथ्याङ्कको विश्वव्यापी खुला साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
नयाँ पत्रिकाको पहिलो सम्पादकीय बोर्डमा विश्वका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान संस्थानका विशेषज्ञहरू सहभागी रहेको संस्थानले जनाएको छ।
यस पत्रिकामार्फत वैज्ञानिक अनुसन्धानमा तथ्याङ्कको खुला प्रयोग, प्रभावकारी तथ्याङ्क व्यवस्थापन तथा नयाँ अनुसन्धान पद्धतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: १७ भाद्र २०८३, बुधबार