काठमाडौं ।
विनाशकारी भोटेकोशी बाढीपछि गत बुधबारदेखि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवाबाट प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।
एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ।
कम्पनीका अनुसार बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य हुने व्यवस्था गरिएको छ। सुरुमा बुधबारदेखि तीन दिनका लागि उपलब्ध गराइएको निःशुल्क सेवा पछि शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको थियो।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अवधि ७ दिन बढायो
ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको मूल्य आइतबारसम्ममा १ करोड रुपैयाँभन्दा बढी पुगेको कम्पनीले जनाएको छ। डाउन रहेका मोबाइल टावरको संख्या क्रमशः घट्दै गएसँगै निःशुल्क सेवाको प्रयोग पनि बढ्दै गएको एनसेलले जनाएको छ।
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुगेपछि नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए। कम्पनीले आइतबारसम्ममा तीमध्ये २४ वटा साइट पुनः सञ्चालनमा ल्याएको छ। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेको एक तथा नुवाकोटको त्रिशूली, विदुरमा रहेको एक टावरमा भौतिक क्षति पुगेको आशंका गरिएको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि प्रभावित रहेका एनसेलका २७ मध्ये २४ मोबाइल साइट सञ्चालनमा
यसैबीच, संकटको समयमा ग्राहकहरू निरन्तर सम्पर्कमा रहन सकून् भन्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी ग्राहकको सेवा पनि पुनः सक्रिय गरिदिएको छ। ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द रहेका सिमलाई पुनः सक्रिय गरिएको कम्पनीले जनाएको छ।

यी ग्राहकले पनि एनसेलले उपलब्ध गराउँदै आएको निःशुल्क सेवाको सुविधा पाएका छन्। यसबाट विपद्को कठिन समयमा उनीहरू परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिन सक्षम भएका छन्।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार