टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

  • Technology Khabar | १६ भाद्र २०८३, मंगलवार
टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं ।

नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक सामग्रीको विश्वसनीयता जाँच गर्न सक्ने (फ्याक्ट चेकिङ) प्रणाली विकास गरिने भएको छ।

यसका लागि प्रविधि पत्रकार मञ्च (टिजेएफ), सनवे कलेज काठमाडौं र सेन्टर फर आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च नेपाल (केयर नेपाल)बीच त्रिपक्षीय समझदारी भएको हो।

सम्झौतामा केयर नेपालका संस्थापक निर्देशक टेकराज क्षेत्री, सनवे कलेजका निर्देशक खुशल रेग्मी र टिजेएफका अध्यक्ष पूर्णभक्त दुवालले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार नेपालमा फैलिरहेका झुटा, भ्रामक, हेरफेर गरिएका तथा एआईबाट सिर्जना वा परिवर्तन गरिएका सामग्री पहिचान, मूल्यांकन र प्रमाणीकरण गर्न सक्ने तथ्य जाँच प्रणाली विकास गरिनेछ। प्रणालीलाई प्रारम्भिक रूपमा नेपाली र अंग्रेजी भाषामा सञ्चालन हुने गरी तयार गरिनेछ भने लिखित, तस्वीर तथा श्रव्यदृश्य सामग्रीसमेत विश्लेषण गर्न सक्ने बनाइनेछ।

प्रस्तावित प्रणालीले समाचार वा सार्वजनिक सामग्रीमा रहेका दाबी पहिचान गर्ने, समान वा सम्बन्धित दाबी खोज्ने, प्रमाण तथा स्रोत संकलन गर्ने र उपलब्ध प्रमाणका आधारमा मूल्यांकन गर्न सहयोग गर्नेछ।

प्रणालीले तयार गर्ने नतिजामा सार्वजनिक रुपमा प्रयोग भएका स्रोत, प्रमाण, सामग्रीको उत्पत्ति तथा मूल्यांकनको आधारसमेत अभिलेख राखिनेछ। यद्यपि प्रणालीबाट प्राप्त नतिजालाई अन्तिम सत्य वा असत्यको निर्णयका रूपमा प्रयोग गर्न नहुने र योग्य सम्पादकबाट समीक्षा गरेपछि मात्रै प्रकाशन वा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।

समझदारीअनुसार केयर नेपालले अनुसन्धान तथा प्रविधि विकासको नेतृत्व गर्नेछ। संस्थाले प्रणालीको प्राविधिक संरचना तयार गर्ने, एआई, मेसिन लर्निङ, भाषा प्रशोधन तथा नलेज सेयरिङ प्रविधिको विकास गर्ने, परीक्षण तथा मूल्यांकन गर्ने र सफ्टवेयर पूर्वाधार व्यवस्थापन गर्नेछ।

प्रविधि पत्रकार मञ्चले सफ्टवेयर विकासका क्रममा पत्रकारिता तथा सम्पादकीय प्रक्रिया, तथ्य जाँच तथा सूचना विश्वसनीयतासम्बन्धी विज्ञता उपलब्ध गराउनेछ। टिजेएफले प्रणालीले सम्बोधन गर्नुपर्ने वास्तविक झुटा तथा भ्रामक सूचना पहिचान गर्ने, सामग्री वर्गीकरण तथा प्रमाणीकरणका मापदण्ड तयार गर्न सहयोग गर्ने, सञ्चारमाध्यम तथा पत्रकारसँग समन्वय गर्ने र समाचार कक्षमा प्रणालीको परीक्षण तथा प्रयोगका लागि सहजीकरण गर्नेछ।

समझदारीले प्रणाली विकासका क्रममा व्यक्तिगत तथ्यांक, गोप्य पत्रकारिता स्रोत तथा अन्य संवेदनशील सामग्रीको सुरक्षालाई प्राथमिकता दिएको छ। प्रणालीलाई पत्रकार, मानव अधिकार संरक्षक वा नागरिक समाजको निगरानी, राजनीतिक लक्षित गतिविधि, अभिव्यक्ति स्वतन्त्रता तथा कुनै व्यक्तिलाई डर, धम्की वा हैरानी दिने उद्देश्यले प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

तीन संस्थाले संयुक्त प्राविधिक कार्यदल गठन गरी प्रणालीको विकास, परीक्षण, मूल्यांकन तथा प्रयोगका प्राथमिकता निर्धारण गर्नेछन्। समझदारी अन्तिम हस्ताक्षर भएको मितिदेखि तीन वर्षसम्म कायम रहनेछ ।

अहिलेको बाढीको प्रकोपका बीचमा पनि विभिन्न भ्रामक समाचार प्रकाशन र प्रशारण भइरहेको परिप्रेक्ष्यमा विकास गर्न लागिएको प्रणालीले नेपालीहरुलाई सत्य तथ्य समाचार पाउन सहज हुने प्रविधि पत्रकार मञ्चका अध्यक्ष पूर्णभक्त दुवालले बताए।

भुकम्पदेखि विभिन्न समयका घट्नाक्रमले नेपालमा भ्रामक तथा तथ्यहिन समाचार प्रकाशन र प्रशारण हुने पाइएकाले विभिन्न रिसर्चहरु गर्दै अहिले प्रणालीको विकासको क्रममा पुगेको केयर नेपालका संस्थापक टेकराज क्षेत्रीले बताए।

सन वे कलेजका प्रिन्सिपल खुुशल रेग्मीले फ्याक्ट चेकिङ्ग प्रणालीले नेपालको पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: १६ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार