काठमाडौं ।
भदौ १० गते आएको भीषण बाढी तथा पहिरोका कारण प्रभावित भएका एनसेलका २७ मोबाइल साइटमध्ये २४ वटा पुनः सञ्चालनमा आएका छन्। एनसेलले अगस्ट ३० सम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै तीन साइट अझै सञ्चालनमा आउन बाँकी रहेको जनाएको छ।
बाँकी तीनमध्ये नुवाकोटको एउटा र रसुवागढीको टिमुरेमा रहेको एउटा साइटमा पूर्वाधारमा क्षति पुगेको आशंका गरिएको छ। त्यस्तै, रसुवाको अर्को एउटा साइटमा आवश्यक उपकरण पुर्याउन हवाई उद्धार अर्थात् एयरलिफ्ट आवश्यक पर्ने भएकाले पुनः सञ्चालन गर्न बाँकी रहेको एनसेलले जनाएको छ।
रसुवा, धादिङ र नुवाकोटमा एनसेलका कुल ७८ साइट छन्। तीमध्ये हाल ७५ वटा साइट सञ्चालनमा रहेका छन्।
एनसेलका अनुसार नुवाकोटका १६ वटा साइट पुनः सञ्चालनमा ल्याइएको छ। हन, कालिकास्थान, चौर्तोल, चुली, बट्टार, बिदुर, दुईपिप्ले, तारुक, मादे डाँडा, खड्कभञ्ज्याङ, महामण्डल, गुजेतार, देउराली, बट्टार बजार र पिपलटारलगायतका स्थानका टावर सञ्चालनमा आएका छन्।
त्यस्तै, धादिङको गल्छी क्षेत्रमा खाल्टे, सुनौला बजार र भूमिडाँडाका टावर पनि पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ।
रसुवामा कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र गतलाङका पाँचवटा टावर पुनः सञ्चालनमा आएका छन्। यी टावर सञ्चालनमा आएपछि बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा आफन्तसँग सम्पर्क कायम गर्न तथा उद्धार र राहत वितरणका कार्यमा आवश्यक सञ्चार सुविधा उपलब्ध भएको एनसेलको भनाइ छ।
कम्पनीले बाँकी प्रभावित साइटहरू पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक काम भइरहेको जनाएको छ।
प्रकाशित: १४ भाद्र २०८३, आईतवार