बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनाको काम तीव्र, १९८ मध्ये १८१ टावर सञ्चालनमा

  • Technology Khabar | १४ भाद्र २०८३, आईतवार
बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनाको काम तीव्र, १९८ मध्ये १८१ टावर सञ्चालनमा
सांकेतिक तस्बिर

काठमाडौं ।

बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा अवरुद्ध दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरूले काम तीव्र बनाएका छन्। सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलका अधिकांश साइट सञ्चालनमा आइसकेका छन्।

नेपाल टेलिकमका १२० साइटमध्ये १०६ सञ्चालनमा छन् भने १४ साइट अझै अवरुद्ध छन्। एनसेलका ७८ साइटमध्ये ७५ सञ्चालनमा आइसकेका छन् भने ३ साइट अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

जिल्लागत रूपमा रसुवाका २६ मध्ये १९, नुवाकोटका ७६ मध्ये ६८ र धादिङका २६ मध्ये २४ साइट सञ्चालनमा रहेका छन्।

बाढी तथा पहिरोका कारण क्षतिग्रस्त फाइबर, विद्युत् तथा अन्य प्राविधिक पूर्वाधार मर्मतसँगै जेनेरेटर, ब्याट्री र इन्धनको व्यवस्था गरेर सेवा पुनःस्थापनाको काम भइरहेको छ। नेपाल टेलिकमले प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत समेत प्राविधिक कर्मचारी तथा आवश्यक सामग्री पठाएर सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

यसैगरी, एनसेलले प्रभावित २७ साइटमध्ये १४ साइट पुनः सञ्चालनमा ल्याएको र थप प्रभावित साइटहरूमा समेत प्राविधिक टोली परिचालन गरी सेवा सुधार गरिरहेको जनाएको छ।

दूरसञ्चार सेवा पुनः सञ्चालनसँगै बाढी प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्क गर्न तथा उद्धार, राहत र पुनःस्थापना कार्यमा सञ्चार समन्वय सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार