अमेजनले ‘गोप्य विज्ञापन शुल्क योजना’ चलाएको आरोप लगाउँदै एफटीसीद्वारा मुद्दा दायर

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
अमेजनले ‘गोप्य विज्ञापन शुल्क योजना’ चलाएको आरोप लगाउँदै एफटीसीद्वारा मुद्दा दायर

काठमाडौं ।

अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी) र २२ वटा राज्यले अमेजनविरुद्ध नयाँ मुद्दा दायर गरेका छन्। उनीहरूले अमेजनले आफ्नो प्लेटफर्ममा विज्ञापन गर्ने व्यवसायबाट गोप्य रूपमा बढी शुल्क लिएको आरोप लगाएका छन्।

सोमबार दायर गरिएको मुद्दामा अमेजनले सात वर्षभन्दा बढी समयदेखि आफ्नो अनलाइन विज्ञापन लिलामीमार्फत विज्ञापनदाताले तिर्ने मूल्य चुपचाप बढाएको आरोप लगाइएको छ।

उजुरीअनुसार यसबाट १० लाखभन्दा बढी ब्रान्ड र बिक्रेता प्रभावित भएका छन् र अमेजनले थप आम्दानीका रूपमा दशौं अर्ब डलर प्राप्त गरेको हुन सक्ने बताइएको छ।

एफटीसीसँग मुद्दामा सहभागी २२ राज्यमा अलास्का, एरिजोना, क्यालिफोर्निया, कोलोराडो, फ्लोरिडा, इडाहो, इलिनोइस, इन्डियाना, आयोवा, केन्टकी, लुइजियाना, मेरील्यान्ड, नेब्रास्का, न्यु जर्सी, न्युयोर्क, नर्थ क्यारोलाइना, ओक्लाहोमा, पेन्सिलभेनिया, रोड आइल्यान्ड, साउथ क्यारोलाइना, भर्मन्ट र वासिङ्टन छन्।

मुद्दा अमेजनका प्रायोजित सामग्री, प्रायोजित ब्राण्ड र खोजी नतिजासँगै देखाइने डिस्प्ले विज्ञापनमा केन्द्रित छ। एफटीसीका अनुसार अमेजनले ५ लाखभन्दा बढी साना तथा मध्यम व्यवसायलाई आफ्नो प्लेटफर्ममा ‘सेकेन्ड-प्राइस’ लिलामी हुने बताएको थियो। यस्तो लिलामीमा विजेता विज्ञापनदाताले आफ्नो बोलीको पूरा रकम नभई दोस्रो सबैभन्दा ठूलो बोलीभन्दा एक सेन्ट मात्र बढी तिर्नुपर्ने हुन्छ।

टेकक्रञ्चका अनुसार व्यवसायहरूले आफूले दोस्रो स्थानमा रहेको विज्ञापनदाताभन्दा थोरै बढी रकम मात्र तिर्नुपर्ने विश्वास गरेकाले उनीहरूलाई उच्च बोली लगाउन प्रोत्साहन मिलेको थियो। उनीहरूले प्रणालीले वास्तविक लागतलाई नियन्त्रणमा राख्ने विश्वास गरेका थिए।

तर एफटीसीका अनुसार सन् २०१९ देखि अमेजनले विज्ञापनदातालाई जानकारी नदिई ‘गोप्य’ परिवर्तन गर्‍यो। अमेजनले भित्रै ‘सफ्ट रिजर्भ प्राइस’ नाम दिएको लुकेको अतिरिक्त शुल्क थप्यो। साथै, आन्तरिक दस्तावेजमा ‘इन्भेन्टेड अक्शन पार्टिसिपेन्ट’ भनिएको नक्कली बोली लगाउने व्यक्ति प्रयोग गरेर वास्तविक प्रतिस्पर्धाबाट हुनेभन्दा बढी मूल्य कायम गरेको आरोप एफटीसीले लगाएको छ।

उजुरीअनुसार यो प्रक्रियाले ‘शिल बिड’को रूप लिएको थियो। वास्तविक प्रतिस्पर्धी विज्ञापनदाताबाट मूल्य निर्धारण हुनुको सट्टा अमेजनले नै विज्ञापनदाताले पार गर्नुपर्ने उच्च रकम तयार गरेको आरोप छ। यसका कारण प्रायोजित सामग्रीका विज्ञापनदाताले करिब ८० प्रतिशत समयमा आफ्नो पूरा विजयी बोली रकम तिर्नुपरेको एफटीसीको दाबी छ। यसले ‘सेकेन्ड-प्राइस’ भनेर प्रचार गरिएको लिलामीलाई व्यवहारमा ‘फर्स्ट-प्राइस’ लिलामीमा परिणत गरेको एफटीसीको आरोप छ।

एफटीसीका अनुसार अमेजनले विज्ञापनबाट बढी आम्दानी गर्न यस्तो परिवर्तन गरेको थियो। साथै, यसबारे जानकारी सार्वजनिक गर्दा विज्ञापनदाताले आफ्नो बोली घटाउन सक्ने र त्यसबाट अमेजनको आम्दानी घट्ने भएकाले कम्पनीले यो परिवर्तन गोप्य राखेको आरोप छ। अमेजनले गत वर्ष विज्ञापनबाट ६८ अर्ब डलरभन्दा बढी आम्दानी गरेको थियो।

अमेजनले ब्लग पोस्टमार्फत एफटीसीको मुद्दालाई ‘भ्रमपूर्ण’ भनेको छ। कम्पनीले उजुरीले विज्ञापनदाता कसरी काम गर्छन् भन्ने विषयलाई आधारभूत रूपमा गलत बुझेको दाबी गरेको छ।

कम्पनीका अनुसार उसको लिलामी प्रणालीले विभिन्न स्थान र ढाँचामा अर्बौं बोलीको मूल्यांकन गर्छ। त्यसैले विज्ञापनको मूल्य स्वाभाविक रूपमा फरक हुने र विज्ञापनदातालाई मूल्य निर्धारण प्रणालीबारे उचित रूपमा जानकारी दिइएको अमेजनले जनाएको छ।

 

 

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...