‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

  • Technology Khabar | ४ कार्तिक २०८३, बुधबार
‘लिङ्क डिभाइस’मा समस्या भएपछि हुम्ला र मुगुमा सञ्चार प्रभावित

काठमाडौं ।

मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्याका कारण हुम्ला र मुगुमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गर्न नसकिने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जोडिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले दसैँपछि मात्रै मर्मत गर्न सकिने उनले बताए।

टावरमा समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ।

अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले टेलिकमका कर्मचारीलाई पटक–पटक फोन गरेर समस्या समाधानका लागि आग्रह गरिएको बताए। सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने–जाने आफन्तसँग सम्पर्क गर्न तथा रकम पठाउनसमेत समस्या भएको उनले बताए।

भौगोलिक विकटताका कारण अन्य सञ्चार माध्यमको विकल्पसमेत सहज नभएका यी क्षेत्रका नागरिकलाई टेलिकमको सेवा बन्द हुँदा थप सास्ती भएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार