काठमाडौं ।
एप्पलले गत जुनमा आफ्ना सबै हार्डवेयर उत्पादनको मूल्य बढाएको थियो। कम्पनीले आईफोनको मूल्य पनि बढाउने अपेक्षा भइरहेका बेला उसले आफ्ना दुईवटा सेवाको मूल्य भने फेरि बढाएको छ।
एप्पल टीभी (यसअघि एप्पल टीभी प्लस भनेर चिनिन्थ्यो) र एप्पल वनको मूल्य बढाइएको हो। एप्पल वनको फ्यामिली र प्रिमियर प्लानको मूल्य यसअघि नै गत महिना बढाइएको थियो। अब व्यक्तिगत प्लानको मूल्य पनि बढाइएको छ।
जीएसएमएरिनाका अनुसार अमेरिकामा एप्पल टीभीको मासिक शुल्क १२.९९ डलरबाट बढेर १४.९९ डलर पुगेको छ। त्यस्तै, वार्षिक शुल्क ९९.९९ डलरबाट बढेर ११९.९९ डलर पुगेको छ।
त्यसैगरी, व्यक्तिगत एप्पल वन प्लानको मासिक शुल्क १९.९५ डलरबाट बढेर २१.९५ डलर पुगेको छ। यसमा एप्पल म्युजिक, एप्पल टीभी, एप्पल आर्केड, एप्पल फिटनेस प्लस, एप्पल न्युज प्लस र आईक्लाउड प्लस समावेश छन्।
पछिल्लो समय केही–केही हप्ताको अन्तरालमा विभिन्न स्ट्रिमिङ सेवाले आफ्ना मूल्य बढाइरहेका छन्। मूल्यवृद्धिको यो क्रम तत्कालै रोकिने संकेत भने देखिएको छैन।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार