काठमाडौं ।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा थप समयसम्म निरन्तर उपलब्ध गराउने भएको छ।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन निःशुल्क सेवा निरन्तर उपलब्ध गराउने व्यवस्था गरिएको हो। यसअघि भदौ १४ गतेसम्मका लागि प्रतिदिन २ जीबी डाटा र ५० एसएमएससहित निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराइएको थियो।
नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकताअनुसार कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा उपयोग गर्न आग्रह गरेको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमका नि: शुल्क सेवा थप तीन दिन विस्तार
यसैबीच बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मतसम्भार गर्न कम्पनीका प्राविधिक टोली निरन्तर परिचालन भइरहेको जनाएको छ। अधिकांश संरचना सञ्चालनमा आइसकेको र बाँकी संरचना पनि सञ्चालनमा ल्याउने काम भइरहेको कम्पनीले जनाएको छ।
विपद्को अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोग गरी सेवाग्राहीले आफन्तसँग सञ्चार सम्पर्क कायम राख्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
प्रकाशित: १४ भाद्र २०८३, आईतवार