काठमाडौं ।
नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ।
कम्पनीका अनुसार बाढीबाट प्रभावित रसुवा तथा आसपासका सेवाग्राहीलाई लक्षित गरी यसअघि दुई दिनका लागि निःशुल्क भ्वाइस कल, तीन दिनका लागि २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरिएको थियो। उक्त सुविधा अब आगामी भदौ १२, १३ र १४ गतेसम्म उपलब्ध रहनेछ।
भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढिरहेको अवस्थालाई ध्यानमा राख्दै टेलिकमले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन एसएमएसमार्फत समेत अनुरोध गरेको जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा समेत दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न कम्पनीका प्राविधिक टोली निरन्तर परिचालन भइरहेका छन्।
विपद्को समयमा नागरिकको सञ्चार आवश्यकता सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक सहयोगलाई उच्च प्राथमिकतामा राखिएको टेलिकमले जनाएको छ।
प्रकाशित: ११ भाद्र २०८३, बिहीबार