राहत कोषको नाममा सामाजिक सञ्जालबाट ठगी हुनसक्ने भन्दै सचेत रहन प्रहरीको आग्रह

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
राहत कोषको नाममा सामाजिक सञ्जालबाट ठगी हुनसक्ने भन्दै सचेत रहन प्रहरीको आग्रह

काठमाडौं ।

हालको विपद्को अवस्थालाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको नाम दुरुपयोग गरी ठगी हुनसक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सावधान गराएको छ।

प्रहरीले सामाजिक सञ्जालमार्फत केही व्यक्तिले उक्त कोषको नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम माग्ने तथा फर्जी राहत माग गर्ने गतिविधि भइरहेको पाइएको जनाएको छ।

राहत तथा सहयोगसम्बन्धी कुनै पनि अनुरोध आएमा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्रै सहयोग गर्न आग्रह गरिएको छ। सहयोग गर्न चाहनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट opmcm.gov.np वा प्रमाणित सामाजिक सञ्जाल पेजबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन प्रहरीको आग्रह छ।

प्रहरीले विपद्का कारण प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिलसमेत गरेको छ।

विपद् राहतको नाममा कसैले ठगी गरेको वा ठगी गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको साइबर ब्यूरोमा तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।

सामाजिक सञ्जालमा फैलिएका अप्रमाणित बैंक खाता, ई–वालेट वा व्यक्तिगत रकम मागसम्बन्धी पोस्टमा विश्वास नगर्न र रकम पठाउनुअघि सम्बन्धित सरकारी निकायबाट सूचना यकिन गर्न प्रहरीको आग्रह छ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार