काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हुने कारोबारमा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गर्न भुक्तानीसम्बन्धी काम गर्ने अनुमतिप्राप्त संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बाढी तथा डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग परिचालन गरिरहेको भन्दै यस्तो निर्देशन दिएको हो।
राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गरेको पत्रमा को निर्देशन नं. ४/०८२ को बुँदा नं. २ र ३ मा उल्लेख भएको अधिकतम कारोबार सीमा लागू नहुने भएकाले सोहीअनुसार व्यवस्था गर्न अनुमतिप्राप्त सबै संस्थालाई जानकारी गराइएको उल्लेख छ।
राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका लागि विभिन्न बैंकमा रहेका खाताको विवरणसमेत उपलब्ध गराएको छ।
उद्धार कोषका लागि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खाता रहेका छन्। प्रधानमन्त्री राहत कोषको खाता राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार