एआई डाटा सेन्टरविरुद्धका सामग्री पोस्ट गर्ने चिनियाँ बोट फार्म फेला पारेको एक्सको दावी

  • Technology Khabar | १२ भाद्र २०८३, शुक्रबार
एआई डाटा सेन्टरविरुद्धका सामग्री पोस्ट गर्ने चिनियाँ बोट फार्म फेला पारेको एक्सको दावी

काठमाडौं ।

एक्सले आफ्नो प्लेटफर्ममा २ लाख खातासहितको बोट फार्म नेटवर्क फेला पारेको दाबी गरेको छ। कम्पनीको सेफ्टी टिमले वास्तविक नभएका चिनियाँ खाताको आशंकामा गरेको अनुसन्धानका क्रममा यो नेटवर्क फेला पारेको हो।

कम्पनीले आफ्नो ग्लोबल गभर्नमेन्ट अफेयर्स पेजमार्फत अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो। एक्सका अनुसार ती २ लाख खातामध्ये २०० खाताले एआई डाटा सेन्टरबारे कमिक, तस्बिर र टेक्स्ट पोस्ट गरिरहेका थिए। ती सामग्रीले “अमेरिकी एआई र ऊर्जा नीतिबारे भइरहेको वास्तविक बहसलाई प्रभावित गर्न सक्ने” कम्पनीले जनाएको छ।

ती खाताले विशेषगरी एआई डाटा सेन्टरका कारण घरायसी बिजुलीको मूल्य बढ्न सक्ने र आसपासका सहर तथा क्षेत्रमा विद्युत् ग्रिडमा दबाब पर्न सक्ने विषयमा पोस्ट गरेका थिए।

इन्ग्याजेटका अनुसार उनीहरूले एआईबाट तयार गरिएका कार्टुन पनि पोस्ट गरेका थिए। ती कार्टुनमा डाटा सेन्टर सञ्चालकलाई यस्ता केन्द्रबाट ठूलो नाफा कमाउने व्यवसायीका रूपमा देखाइएको थियो भने त्यसको खर्च सर्वसाधारण परिवारले व्यहोर्नुपरेको देखाइएको थियो।

एक्सले उक्त ट्रोल फार्ममा संलग्न खाताको सूची सार्वजनिक गरेको छैन। तर कम्पनीले प्लेटफर्ममा केही उदाहरण भने पोस्ट गरेको छ।

“सार्वजनिक चासोका विषयमा मानिसहरूले खुला र वास्तविक रूपमा बहस गर्न सक्ने प्लेटफर्म कायम राख्न हामी प्रतिबद्ध छौं,” एक्सले भनेको छ। “विश्वव्यापी सार्वजनिक मञ्चको विश्वसनीयता कमजोर पार्ने कुनै पनि प्रयासलाई हामी गम्भीर रूपमा लिन्छौं र हाम्रो प्रामाणिकतासम्बन्धी नीतिको उल्लंघन गर्ने खातालाई निलम्बन गर्छौं।”

एक्सले सार्वजनिक गरेका पोस्टका नमुनाका आधारमा ती वास्तविक नभएका खाताले आफ्नो अभियानका लागि चित्र र विषयवस्तु तयार गर्न ओपनएआईको प्रयोग गरेका थिए।

ती खाताले प्रयोग गरेका उही चित्रहरू ओपनएआईले गत जुनमा सार्वजनिक गरेको एक रिपोर्टमा पनि उल्लेख गरिएका थिए। उक्त रिपोर्टमा चीनमा आधारित हुन सक्ने केही खाताले च्याटजीपीटी प्रयोग गरेर डाटा सेन्टरविरुद्धका सामग्री तयार गरेको बताइएको थियो।

त्यतिबेला ओपनएआईले च्याटजीपीटी प्रयोग गर्नेहरूले सामाजिक सञ्जालमा पोस्ट गर्न नक्कली खाता प्रयोग गरेको हुन सक्ने बताएको थियो। तर उनीहरूले “विद्युत् ग्रिड सञ्चालकको क्षमतासम्बन्धी लिलामी र डाटा सेन्टरको विद्युत् माग” बारे वास्तविक समाचार सामग्री पनि पोस्ट गरेको जनाएको थियो।

ठूला डाटा सेन्टर भएका सहर तथा क्षेत्रमा विद्युत् लागत बढ्ने विषयमा वास्तविक चिन्ता रहेको बताइएको छ। गोल्डम्यान स्याक्सका अनुसार फेब्रुअरी २०२६ सम्ममा विद्युत्को मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.९ प्रतिशत बढिसकेको थियो। एआई सुविधाका कारण विद्युत्को माग बढ्दै जाने भएकाले मूल्य अझै बढ्ने उसको अनुमान छ।

२ लाख खातामध्ये एआई डाटा सेन्टरविरुद्धका धारणा फैलाउन २०० खाता मात्र संलग्न भएको भए बाँकी खाताले के सामग्री पोस्ट गरिरहेका थिए भन्नेबारे एक्सले जानकारी दिएको छैन।

यद्यपि, ओपनएआईले गत जुनमा सार्वजनिक गरेको रिपोर्टमा चीनसँग जोडिएका च्याटजीपीटी प्रयोगकर्ताले चिनियाँ असन्तुष्ट समूहका सदस्य र राजनीतिक टिप्पणीकारविरुद्ध अपमानजनक सामग्री लेख्न तथा अमेरिकी कर र प्रविधिसम्बन्धी नीतिको आलोचना गर्न पनि च्याटबोटलाई अनुरोध गरेको खुलासा गरेको थियो।

प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार