काठमाडौं ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी तथा त्रिशूली नदीतटीय क्षेत्रका नागरिक बचाउन छ लाख ७९ हजार मोबाइल एसएमएस पठाएको जानकारी दिएको छ।
केन्द्रका प्रवक्ता डा राजन भट्टराईले नेपाल टेलिकम र एनसेलमार्फत छ लाख ७९ हजार २९५ एसएमएस पठाएर भोटेकोशी तथा त्रिशूली नदीतटीय क्षेत्रका नागरिकलाई चरणबद्ध रूपमा सुरक्षित स्थानमा जान अनुरोध गरिएको जानकारी दिए।
भोटेकोशी–त्रिशूलीमा आएको बाढीसम्बन्धी समयमै पुगेको पूर्वसूचनाका कारण धेरैको ज्यान जोगिएको धादिङस्थित नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बताए। उनले भने, “उपल्लो तटीय क्षेत्रमा बाढी गएको खबर पाउनासाथ हामीले पूर्वसूचना सबैतिर सम्प्रेषण गर्यौँ। त्यसपछि धेरै मानिस अग्लो तथा सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भए।”
नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो जाँदा भोटेकोशी बाढी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको बताए।
“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा हिम–चट्टान पहिरो गएको देखिन्छ। त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ”, प्राधिकरणका कार्यकारी प्रमुख डा उप्रेतीले भने।
बाढीविद् विनोद पराजुलीले घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको जानकारी दिए।
सतचालीस हिमतालको जोखिम कायमै
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल फुट्नसक्ने बताएको छ।
यूएनडिपी र इसिमोडले संयुक्त रूपमा गरको उक्त अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ। यी हिमताल जुनसुकै बेलामा पनि फुट्नसक्ने र नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएकोे छ।
उक्त अध्ययनअनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ। तीमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन् जसले ठूलोमात्रामा जनधनको क्षति गराउने सम्भावना रहेको अध्ययनले देखाएको छ।
प्रतिवेदनले जोखिममा रहेका हिमतालहरू फुट्दा नेपालले अर्बौंभन्दा बढी वित्तीय क्षति व्यहोर्नुपर्ने र ठूलो मानवीय क्षति पनि गर्नसक्ने उल्लेख गरेको छ। प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ।-रासस
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार