चेम्बर अफ कमर्सद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

  • Technology Khabar | १२ भाद्र २०८३, शुक्रबार
चेम्बर अफ कमर्सद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री तथा २ वटा लिटो एक्स वान एफएमसी आर टु रहेका छन्।

विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन सर्भिलेन्स ड्रोनले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको चेम्बरले जनाएको छ।

कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने विश्वास लिइएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन चेम्बरले यसअघि नै ५० केजी पेलोड क्षमताको एउटा ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको जानकारी दिएको छ।

यसैगरी, प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले चेम्बरले १२५ वटा पावर बैंक समेत उपलब्ध गराइसकेको छ।

चेम्बरले रसुवा, नुवाकोट तथा धादिङलगायत प्रभावित जिल्लामा भाद्र ११ गते तत्कालै नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको छ भने राहत अभियानलाई अगाडी बढाउदै सहयोग कार्यलाई निरन्तरता दिने चेम्बरले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार