अटोमोबाइल क्षेत्रको विशाल प्रदर्शनी नाडा अटो शो २०२६ आजबाट भृकुटीमण्डपमा शुरु, आगन्तुकको उल्लेख्य सहभागिता

  • Technology Khabar | ९ भाद्र २०८३, मंगलवार
अटोमोबाइल क्षेत्रको विशाल प्रदर्शनी नाडा अटो शो २०२६ आजबाट भृकुटीमण्डपमा शुरु, आगन्तुकको उल्लेख्य सहभागिता

काठमाडौं ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा अटोमोबाइल क्षेत्रको महाकुम्भ मानिने नाडा अटो शोको यो वर्षको संस्करण आजबाट भृकुटीमण्डपमा शुरु भएको छ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले उक्त प्रदर्शनीको उद्घाटन गरेका हुन्। उद्घाटनका क्रममा बोल्दै उपराष्ट्रपति  यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताए।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर र व्यावहारिक कर नीति अवलम्बन गर्नुपर्ने बताए।

उनले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व सङ्कलनको रूपमा नहेरी आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा लिन सरकारसँग आग्रह गर्दै सवारी साधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिए।

सवारी साधन नागरिकको आवागमन, व्यवसाय तथा रोजगारीसँग प्रत्यक्ष जोडिएको अनिवार्य आवश्यकता बनिसकेको भन्दै उनले कर नीति उपभोक्तामैत्री र व्यावहारिक हुनुपर्ने बताएका छन्।

उनका अनुसार अटोमोबाइल क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बिमा तथा रोजगारीसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यस क्षेत्रमा ठूलो लगानी रहेको र १० लाखभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै उनले राज्यको कुल राजस्वमा यस क्षेत्रले वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान पुर्‍याउँदै आएको बताए।

विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै उप्रेतीले नेपालमै एसेम्बलिङ तथा कम्पोनेन्ट उद्योग स्थापना गर्नुपर्ने बताए। ‘स्वदेशमा एसेम्बलिङ भएका सवारी साधनको दीर्घकालीन स्थायित्वका लागि कम्पोनेन्ट उद्योगको विकास आवश्यक रहेको छ त्यसैले यस क्षेत्रमा सरकारले विशेष सहुलियत दिनुपर्छ,’ उनले भने।

आयोजकका अनुसार सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु यो प्रदर्शनीको मुख्य उद्देश्य हो।

यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पु‍र्याउने विश्वास आयोजकको रहेको छ।

आगामी १४ गतेसम्म आयोजना हुने प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहेका छन्।

तीमध्ये २३ ओटा ब्राण्डका पेसेन्जर कार भेहिकल, १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिएको छ।

यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।

प्रकाशित: ९ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार