काठमाडौं ।
नेदरल्यान्ड्सको तथ्यांक नियामक निकायले उबरलाई जीडीपीआर उल्लंघन गरेको भन्दै ८२ करोड ४९ लाख यूरो जरिवाना तिर्न आदेश दिएको छ।
उबरले यूरोपेली संघको जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) फेरि उल्लंघन गरेको आरोप लागेको छ। यसपटक कम्पनीलाई ८२ करोड ४९ लाख यूरो अर्थात् ९६ करोड ६० लाख डलर जरिवाना गरिएको हो।
नेदरल्यान्ड्सको डच डाटा प्रोटेक्सन अथोरिटी (एपी) ले सन् २०१८ देखि २०२२ सम्म कुनै मानवीय हस्तक्षेपबिना चालकका खाताहरू स्वचालित रूपमा निष्क्रिय गरेको आरोपमा उबरलाई उक्त जरिवाना गरेको हो।
डच नियामक निकायका अनुसार उबरले पूर्ण रूपमा स्वचालित निर्णयमार्फत आफ्ना चालकलाई आम्दानीबाट वञ्चित गरेको र यस क्रममा जीडीपीआर उल्लंघन गरेको छ।
१७१ जना फ्रान्सेली चालकले स्थानीय मानव अधिकार संस्थामार्फत यी निर्णयबारे उजुरी गरेपछि अनुसन्धान सुरु भएको थियो। उबरको यूरोपेली मुख्यालय नेदरल्यान्ड्समा रहेकाले उक्त मुद्दा अन्ततः एपीले आफ्नो जिम्मामा लिएको थियो।
इन्ग्याजेटका अनुसार उजुरी सुरु गर्ने चालकहरूबारे एपीकी उपाध्यक्ष मोनिक भर्डियरले भनिन्, “एकै क्षणदेखि उनीहरूले उबरमार्फत कुनै आम्दानी गर्न सकेनन्। कम्प्युटरले तपाईंको जीवनमा ठूलो असर पार्ने निर्णय आफैं गर्नु हुँदैन।”
एपीले यसअघि पनि उबरलाई तीन पटक जरिवाना गरिसकेको छ। सन् २०१८ मा ६ लाख युरो अर्थात् ७ लाख १ हजार डलर र सन् २०२३ मा १ करोड युरो अर्थात् १ करोड १६ लाख डलर जरिवाना गरिएको थियो।
उबरमाथि यसअघि सबैभन्दा ठूलो जरिवाना सन् २०२४ मा लगाइएको थियो। त्यतिबेला यूरोपेली चालकहरूको व्यक्तिगत तथ्यांक अमेरिकामा अनुचित रूपमा स्थानान्तरण गरेको भन्दै एपीले २९ करोड यूरो अर्थात् करिब ३३ करोड ९० लाख डलर जरिवाना गरेको थियो।
यसपटक एपीका अनुसार ८२ करोड ४९ लाख यूरो जरिवाना कम्पनीको विश्वव्यापी वार्षिक कारोबारको ४ प्रतिशतका आधारमा निर्धारण गरिएको अधिकतम जरिवाना हो। एपीका अनुसार उबरले यस जरिवानाविरुद्ध अपिल गरिसकेको छ।
जरिवानाबारे उबरको प्रतिक्रिया लिन सम्पर्क गरिएको र कम्पनीबाट जवाफ प्राप्त भएपछि समाचार अद्यावधिक गरिने बताइएको छ।
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार