पाटन अस्पतालमा अब मोबाइल एपबाटै ओपीडी टिकट बुकिङ र भुक्तानी

  • Technology Khabar | ९ भाद्र २०८३, मंगलवार
पाटन अस्पतालमा अब मोबाइल एपबाटै ओपीडी टिकट बुकिङ र भुक्तानी

काठमाडौं ।

पाटन अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) का लागि मोबाइल एपमार्फत टिकट बुकिङ तथा भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवाहरूलाई पूर्ण डिजिटल माध्यमबाट प्रवाह गर्ने उद्देश्यअनुसार २०८३ साउन २७ गतेदेखि सेवाग्राही बिरामीका लागि ‘Patan Hospital App’ मोबाइल एपमार्फत विभिन्न सुविधा उपलब्ध गराइएको जनाएको छ।

प्रतिष्ठानका अनुसार गुगल प्ले स्टोरबाट एप डाउनलोड गरी ओपीडी सेवा लिन टिकट बुकिङ, टिकट शुल्क भुक्तानी तथा ‘सेल्फ पेमेन्ट’ लगायतका सुविधा प्रयोग गर्न सकिनेछ। एप डाउनलोड गर्न प्रतिष्ठानले क्यूआर कोडसमेत सार्वजनिक गरेको छ।

अस्पतालले ओपीडी टिकट बुकिङ गर्दा सेवाग्राहीले सेवा लिन जाने दिनभन्दा अघिल्लो दिन राति १२ बजेसम्म उपलब्ध स्लटबाट टिकट बुकिङ गरिसक्नुपर्ने जनाएको छ।

पाटन अस्पतालले यसअघि नै अस्पतालका विभिन्न सेवाहरूलाई डिजिटल प्रणालीमा जोडिसकेको छ। अस्पतालको आधिकारिक वेबसाइटमा पनि ‘Patan Hospital App’ तथा अन्य अनलाइन सेवाहरू उपलब्ध रहेको उल्लेख छ।

यसअघि अस्पतालले डिजिटल प्रणालीमार्फत बिरामीका चिकित्सकीय विवरण, परीक्षण रिपोर्ट, प्रिस्क्रिप्सन तथा भुक्तानी सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको थियो।

नयाँ एपबाट टिकट बुकिङ र भुक्तानीको सुविधा थपिएसँगै ओपीडी टिकट लिन अस्पतालमै पुगेर लामो समय लाइन बस्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ९ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार