स्वीस सरकारबाट नेपालको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
स्वीस सरकारबाट नेपालको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा’ सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडौं ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका कार्यवाहक राजदूत माथीयास मायरबीच नेपालको शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल र स्विट्जरल्याण्डबीचको लामो समयदेखिको सम्बन्ध, शिक्षा क्षेत्रमा भइरहेको सहकार्य तथा आगामी दिनमा सहकार्य गर्न सकिने क्षेत्रबारे छलफल भएको हो ।

भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्वीस सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए।

मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी ऐन अहिले छलफलको क्रममा रहेको जानकारी दिँदै टिभेट क्षेत्रमा सुशासनसहित सुधारका लागि सबै सरोकार भएका निकायसँग निरन्तर छलफल गरेर अघि बढ्ने बताए। टिभेट क्षेत्रको व्यवस्थापन र सुशासनमा सुधारसँगै दक्ष जनशक्ति विकासलाई पनि जोड दिइने भन्दै उनले यसका लागि स्वीस सरकारसँग थप सहकार्यको आवश्यकता औँल्याए।

कार्यवाहक राजदूत मायरले नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रमा स्विस सरकारले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। राजदूत मायरले टिभेट क्षेत्रको सुधारका लागि उद्योग र तालिम प्रदायकबीच प्रभावकारी सम्बन्ध तथा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरे।

नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी नीति निर्माण तुलनात्मक रूपमा प्रभावकारी रहेका उल्लेख गर्दै उनले यससम्बन्धी तथ्याङ्कसमेत आफूसँग उपलब्ध रहेकाले आगामी दिनमा थप सुधार हुनेमा विश्वास व्यक्त गरे।

यसैबीच, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) लाई सीप, उत्पादन र रोजगारीसँग जोड्ने गरी ऐन निर्माण गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाले जोड दिएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को समन्वयमा सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय टिभेट नीति संवादमा सहभागी वक्ताहरूले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न टिभेट शिक्षालाई व्यवहारिक र उत्पादनमुखी बनाउनुपर्ने बताएका हुन्।

उनीहरूले विद्यालय तहदेखि नै सीपमूलक तथा व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षालाई वैकल्पिक शिक्षाका रूपमा मात्र हेर्न नहुने बताए । साथै प्राविधिक शिक्षा र व्यावसायिक तालिमको स्पष्ट विभाजन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार