विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री तिमिल्सिना

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
विज्ञापन बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताएका छन्।

राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले आज सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गरेको भेटमा उनले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी दिए।

अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले केही समयअघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए। विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय तथा उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।

उनले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताए।

विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिकामात्रै पर्याप्त नहुने भन्दै उनले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए। सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवद्र्धनमा समेत योगदान पु¥याउने भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय विज्ञापन संघ नेपालले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।

विज्ञापन एजेन्सी सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीचको महत्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै संघले यस क्षेत्रले हजारौं रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार