एनओसी प्रक्रिया अनलाइनबाटै हुने, सेवाग्राहीलाई कार्यालय पठाउने शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी

  • Technology Khabar | ७ भाद्र २०८३, आईतवार
एनओसी प्रक्रिया अनलाइनबाटै हुने, सेवाग्राहीलाई कार्यालय पठाउने शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
फाइल तस्विर

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) का नाममा सेवाग्राहीलाई अनावश्यक रूपमा कार्यालयमा बोलाउने तथा गलत सूचना प्रवाह गर्ने शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले हालै एक सूचना जारी गर्दै एनओसी आवेदन तथा प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया अनलाइन तथा डिजिटल माध्यमबाट हुने स्पष्ट पारेको छ। मन्त्रालयले एनओसीसम्बन्धी सेवा पूर्ण रूपमा अनलाइन बनाउन निरन्तर प्रयास भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार केही शैक्षिक परामर्श संस्थाले एनओसी प्राप्त गर्न सेवाग्राही आफैं कार्यालयमा उपस्थित हुनुपर्ने भन्दै गलत सूचना तथा जानकारी प्रवाह गरेको र अनावश्यक रूपमा कार्यालय पठाउने गरेको गुनासो प्राप्त भएको छ। यस्तो कार्यबाट भ्रम तथा अनियमितता बढेको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले एनओसीसम्बन्धी सम्पूर्ण आवेदन प्रक्रिया अनलाइन (डिजिटल) माध्यमबाट मात्र हुने जनाएको छ। आवेदनका लागि सेवाग्राही भौतिक रूपमा कार्यालयमा उपस्थित हुन आवश्यक नरहेको मन्त्रालयको सूचनामा उल्लेख छ।

यद्यपि, आवेदनमा पेस गरिएको नागरिकता र शैक्षिक योग्यताको विवरण केन्द्रीय सूचना व्यवस्थापन प्रणालीमा एकआपसमा मेल खाई जन्ममिति भेरिफाई भएका विद्यार्थीले मात्रै भौतिक उपस्थितिबिना एनओसी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

अन्य विद्यार्थीका हकमा भौतिक उपस्थितिसम्बन्धी जानकारी एनओसी पोर्टलमै उपलब्ध हुने भएकाले शैक्षिक परामर्श संस्थाले विद्यार्थीलाई सोहीअनुसार जानकारी दिनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले एनओसीको नाममा गलत सूचना प्रवाह गरी सेवाग्राहीलाई भ्रममा पार्ने, अनावश्यक रूपमा कार्यालय पठाउने वा अन्य गैरकानुनी तथा भ्रामक अभ्यास गर्ने शैक्षिक परामर्श संस्थालाई त्यस्ता गतिविधि तत्काल रोक्न सचेत गराएको छ।

त्यस्तै, गलत सूचना फैलाएर अनुचित लाभ लिन खोज्ने वा अनियमितता गर्ने संस्थामाथि कडा नियामक अनुगमन तथा कानुनी कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

एनओसीसम्बन्धी आधिकारिक जानकारीका लागि मन्त्रालयले आफ्नो एनओसी पोर्टल तथा पोर्टलमा उपलब्ध प्रयोगकर्ता पुस्तिका हेर्न आग्रह गरेको छ। मन्त्रालयले एनओसीसम्बन्धी जिज्ञासाका लागि सम्बन्धित शाखामा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित: ७ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार