काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) लाई थप व्यावसायिक, प्रतिस्पर्धी, प्रभावकारी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताएका छन्।
सार्वजनिक सेवा प्रसारण नेपालले चालु आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको बजेट तथा वर्षभरि सञ्चालन हुने कार्यक्रमबारे जानकारी लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सबैजसो सार्वजनिक संस्थाहरु कमजोर र निष्क्रिय जस्तो अवस्थामा रहेकोमा तिनलाई पुनर्जीवन दिई बलियो र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्नो मूल उद्देश्यअनुसार काम गर्नु नै पहिलो प्राथमिकता हुनुपर्ने बताए। अहिले सञ्चारमाध्यमहरू डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमा तीव्र रूपमा विस्तार भइरहेकाले नेपाल टेलिभिजन र रेडियो नेपालले पनि आफ्ना सामग्रीको गुणस्तर बढाउँदै डिजिटल माध्यममा प्रभावकारी उपस्थिति जनाउनुपर्ने उनको भनाइ थियो।
साथै सञ्चारमन्त्री डा तिमिल्सिनाले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरी उत्कृष्ट नतिजा हासिल गर्न निर्देशन दिए। नेपाल टेलिभिजन र रेडियो नेपालको प्रशासन तथा लेखा शाखालाई एकीकृत गरी कार्यसम्पादन गर्नुपर्ने पनि उनको भनाई छ।
संस्थाको विकास र संरक्षणमा व्यवस्थापन तथा कर्मचारीको मुख्य जिम्मेवारी हुने बताउँदै सञ्चारमन्त्री तिमिल्सिनाले संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। “संस्था जोगिन सक्यो भने मात्र त्यसबाट सबैले लाभ लिन सक्छन्। राज्यको ठूलो रकम खर्च भइरहने तर संस्थाले आफ्नो उद्देश्य पूरा गर्न नसक्ने अवस्था आउन भएन”, उनले भने।
सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारणबाट प्रसारित समाचार तथा सूचना सामग्री तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिए। राजनीतिक आग्रह वा पूर्वाग्रहबाट प्रभावित सामग्री प्रसारण गर्न नहुने भन्दै उहाँले नागरिकलाई केन्द्रमा राखेर समाचार तथा कार्यक्रम उत्पादन गर्नसमेत निर्देशन दिए।
नेपाल टेलिभिजन र रेडियो नेपालले खोजमूलक तथा जनचासोका सामग्रीलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले नागरिकलाई सही र विश्वसनीय सूचना उपलब्ध गराउने भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।
विशेषगरी सामाजिक सञ्जालमार्फत फैलिने गलत तथा भ्रामक सूचनालाई चिर्न सार्वजनिक सेवा प्रसारण संस्थाको महत्वपूर्ण दायित्व रहेको उल्लेख गर्दै उनले विपद्को समयमा पूर्वसूचना प्रवाह, राहत तथा उद्धारसम्बन्धी सूचना प्रसारणमा पनि सार्वजनिक सेवा प्रसारण संस्थाको भूमिका महत्वपूर्ण हुने बताए। सरकारले सार्वजनिक सेवा प्रसारण संस्थालाई उत्कृष्ट र सक्षम संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।
सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यबाहक अध्यक्ष उर्वशी बस्न्यातले संस्थालाई प्रतिस्पर्धी, जवाफदेही र जनउत्तरदायी बनाउन आवश्यक पहल गरिने प्रतिवद्धता व्यक्त गरिन्।
वर्तमान आवश्यकता र भविष्यमा आउन सक्ने चुनौतीको विश्लेषण गर्दै संस्थालाई अघि बढाइने उनको भनाइ थियो। उनले डिजिटल युगमा रेडियो नेपाल र नेपाल टेलिभिजनले डिजिटल सामग्री उत्पादनलाई प्राथमिकता दिने बताइन्।
सामाजिक सञ्जालमा फैलिने गलत तथा भ्रामक सूचना नियन्त्रण गर्न विश्वसनीय सूचना प्रवाहमार्फत सार्वजनिक सेवा प्रसारण संस्थाले प्रभावकारी भूमिका खेल्नेगरी काम गर्ने उनको भनाई थियो।
सञ्चार मन्त्रालयका सहसचिव तथा सार्वजनिक सेवा प्रसारण संस्थाका सदस्य रविलाल शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आम्दानी र खर्च व्यवस्थापनमा नयाँ सोच र शैलीका कार्यक्रम ल्याउनुपर्ने बताए। संस्थाले प्राप्त गर्नुपर्ने आम्दानीसमेत समयमा उठाउन नसकेकाले बक्यौता असुलीलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
शर्माले संस्थाको वार्षिक लेखापरीक्षण समयमै सम्पन्न गर्ने र बेरुजु फछ्र्योटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
प्रकाशित: ४ भाद्र २०८३, बिहीबार