काठमाडौं ।
फ्रान्सको संवैधानिक परिषद्ले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक खारेज गरेको छ। परिषद्ले यस्तो प्रतिबन्ध अत्यधिक व्यापक भएको र लागू गर्दा व्यक्तिको गोपनीयता उल्लंघन हुने जनाएको छ।
गत महिना फ्रान्सेली सांसदहरूले उक्त विधेयकको पक्षमा ठूलो बहुमतसहित मतदान गरेका थिए। यो कानुन पारित भएको भए युरोपेली संघमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा यस्तो उमेर सीमा लागू गर्ने फ्रान्स पहिलो देश बन्ने थियो।
टेलिग्राफका अनुसार फ्रान्समा विधेयकलाई संविधानअनुकूल भए–नभएको जाँच गर्न संवैधानिक परिषद्ले समीक्षा गर्ने व्यवस्था छ। परिषद्को निर्णयपछि अब नयाँ कानुनको मस्यौदा तयार गर्नुपर्नेछ।
संवैधानिक परिषद्ले प्रस्तावित कानुनले नाबालिगलाई सामाजिक सञ्जालबाट पूर्ण रूपमा रोक्दा “अभिव्यक्ति र सञ्चारको स्वतन्त्रता उल्लंघन” हुने जनाएको छ। साथै, सबै नाबालिगको व्यक्तिगत अवस्था वा प्रत्येक सामाजिक सञ्जाल प्लेटफर्मबाट उत्पन्न हुने फरक–फरक जोखिमलाई ध्यानमा नराखी प्रतिबन्ध लगाउन खोजिएको परिषद्को भनाइ छ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई परिषद्को निर्णयलाई ध्यानमा राखेर नयाँ कानुनको मस्यौदा “सम्भव भएसम्म छिटो” तयार गर्न निर्देशन दिएका छन्। म्याक्रोंले सन् २०२७ को वसन्तसम्ममा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू गर्ने आफ्नो प्रतिबद्धता पनि दोहोर्याएका छन्।
प्रकाशित: १ भाद्र २०८३, सोमबार