काठमाडौं ।
सन् २०२६ अगस्ट २ देखि ८ सम्म कजाखस्तानको अस्तानामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाड (आइएओआई) मा सिद्धान्त चतुर्वेदीले कांस्य पदक हासिल गर्दै नेपालका लागि यस प्रतियोगिताको पहिलो पदक जितेका छन्।
टोलीका अन्य तीन सदस्य प्रसिद्ध मैनाली, पीताम्बर लामिछाने र आयुष यादव सहित नेपालका चारै जना प्रतिस्पर्धी सम्मानित भई स्वदेश फर्किएका छन्। चारै जना काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थी हुन्।
कजाखस्तानको कम्पिटिटिभ प्रोग्रामिङ फेडेरेसनले आयोजना गरेको यस वर्षको ओलम्पियाडमा १०८ मुलुकका ४७१ जना प्रतिस्पर्धीले भाग लिएका थिए जुन यस प्रतियोगिताको अहिलेसम्मकै ठूलो संस्करण हो।
अगस्ट ४ र ६ गते सञ्चालित ६–६ घण्टे दुई चरणमा प्रतिस्पर्धीहरूले पाइथन र जुपिटर नोटबुक प्रयोग गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिक समितिले तयार पारेका मेसिन लर्निङका समस्या समाधान गरेका थिए। दुवै दिनको संयुक्त अंकका आधारमा पदक निर्धारण गरिएको थियो।
नेपालले यस ओलम्पियाडका हालसम्मका तीनवटै संस्करणमा सहभागिता जनाए पनि अघिल्ला दुई संस्करणमा कुनै पुरस्कार हात पारेको थिएन।
एचएलओनका सह अधक्ष चन्दन गुप्ताले भने, ‘पहिलो दुई संस्करणमा हामीले केही जित्न सकेनौं, र यसको इमानदार कारण भनेको हामी पर्याप्त तयारी बिना नै सहभागी भएका थियौं भन्ने हो। यस वर्ष हामी केही हदसम्म तयार थियौं, र त्यसको फरक तत्कालै देखियो। उचित तयारी र विद्यार्थी पहिचान तथा तालिमका लागि नेपालव्यापी अभियान सञ्चालन गर्न सके आउँदा वर्षहरूमा हामी यसभन्दा धेरै राम्रो नतिजा हासिल गर्न सक्छौं भन्ने मेरो विश्वास छ।’
नेपाली टोलीको छनोट (एचएलओन) हिमालयन कम्प्युटेसनल, लिंग्विस्टिक एण्ड एआई ओलम्पियाड इन नेपालले आयोजना गर्ने राष्ट्रिय कृत्रिम बुद्धिमत्ता ओलम्पियाड नेपाल मार्फत बहुचरणीय प्रतिस्पर्धाबाट भएको थियो । यो प्रतियोगिता देशभरका माध्यमिक तहका विद्यार्थीका लागि खुला थियो। सन् २०२६ को राष्ट्रिय चरणमा लामिछाने प्रथम र मैनाली द्वितीय भएका थिए।
टोलीका नेतृत्वकर्ता आयुष अधिकारीले भने, ‘समय निकै कम भए पनि हामीले विद्यार्थीहरूलाई सन्तोषजनक ढंगले तालिम दिन सक्यौं । आउँदा वर्षहरूका लागि हामी थप सघन तालिमको योजना बनाइरहेका छौं, जसबाट हाम्रा विद्यार्थीहरूले अझ राम्रो नतिजा हासिल गर्न सकून्।’
एचएलओनका सह अधक्ष डा. बालकृष्ण बलले भने, ‘पहिलो पटक नेपाल एआई ओलम्पियाडको नतिजा तालिकामा देखिएको छ। त्यो पनि एउटा मात्र नतिजाका साथ होइन, हाम्रा चारै विद्यार्थी सम्मानित भएर। यो संयोग होइन। प्रतिभाशाली युवाहरूलाई समयमै पहिचान गरी उपयुक्त शिक्षा दिइयो र विश्वका उत्कृष्टसँग प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराइयो भने प्राप्त हुने परिणाम यही हो।’
एचएलओनका अनुसार यस उपलब्धिको महत्त्व पदक तालिकाभन्दा निकै पर छ।
नेपालको सहभागितामा आइएओआइले आंशिक आर्थिक सहयोग उपलब्ध गराएको थियो, जसअन्तर्गत टोलीको दर्ता शुल्कको आधा रकम र तीन जना सदस्यको यात्रा खर्च समेटिएको थियो।
प्रकाशित: ३१ श्रावण २०८३, आईतवार