काठमाडौं ।
नेपाल टेलिकमले चालु आर्थिक वर्षको चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. ८ अर्व ८६ करोड ४६ लाख आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण नगरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आम्दानीमा सुधार भएसँगै नाफामा पनि वृद्धि भएको देखिएको छ।
कम्पनीले चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा मात्रै कुल १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ। यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५८ करोड ८२ लाख १२ हजार रुपैयाँ अधिक हो।
यसअघि गत वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७५ करोड ६५ लाख ४० हजार रुपैयाँ मात्र कुल आर्जन गरेको थियो
सार्वजनिक विबरणअनुसार यस आ.व. को चौथो त्रैमासिकमा मात्रै कम्पनीले ९ अर्ब २ करोड ७ लाख ९५ हजार रुपैयाँ ग्राहकहरुबाट आम्दानी गरेको छ। यसअघि गत वर्षको सोही अवधिमा यस्तो रकम ८ अर्ब ५७ करोड ६९ लाख ९ हजार रुपैयाँ मात्र थियो। अर्थात यो त्रैमासिकमा कम्पनीले ग्राहकबाट मात्रै करिब ४४ करोड ८३ लाख ८६ हजार रुपैयाँले आम्दानी बढाउन सफल देखिएको छ।
यस आ.व. को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्व ९५ करोड ०४ लाख रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय रु. ३३ अर्ब ८९ करोड ४५ लाखको तुलनामा रु. १ अर्ब ५ करोड ५९ लाख (अर्थात् ३.१२ प्रतिशत) ले बढी हो।
यस्तै आ.व. को चौथो त्रैमासिकसम्म कुल आय रु. ३९ अर्व १९ करोड ९६ लाख रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कुल आय रु. ३८ अर्व १८ करोड ८१ लाखको तुलनामा रु. १ अर्ब १ करोड १५ लाख (अर्थात् २.६५ प्रतिशत) ले बढी भएको कम्पनीले उल्लेख गरेको छ।
आयमा सुधार भएसँगै नेपाल टेलिकमको यस आ.व.को चौथो त्रैमासिकसम्म कर अगाडिको नाफा (Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) रु. २० अर्व ४८ करोड ०१ लाख रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा १८ अर्व ४९ करोड ६० लाख रुपैयाँको तुलनामा रु. १ अर्ब ९८ करोड ४१ लाख (अर्थात् १०.७३ प्रतिशत) ले बढी हो।
कम्पनीले चौथो त्रैमासमा मात्रै ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ करअघिको नाफा आर्जन गरेको छ। यस्तो रकम गत वर्षको सोही आवमा १ अर्ब २२ करोड ४८ लाख ५ हजार रुपैयाँ मात्र थियो।
तर कम्पनीको कर, ब्याज पछिको नाफाको तुलना गर्दा भने यस अवधिको नाफा अघिल्लो सोही अवधिको तुलनामा केहि घटेको देखिन्छ।
कम्पनीले करपछिको नाफा चालु आवको चौथो त्रैमासमा २ अर्ब ५९ करोड १६ लाख ४२ हजार आर्जन गरेको देखिन्छ जबकी गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ९६ करोड २१ लाख ८० हजार आर्जन गरेको थियो। जसको अर्थ चालु आवको चौथो त्रैमासमाकर पछिको नाफा घटेको देखिन्छ।
यस आ.व.को चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा रु. १३ अर्व २६ करोड ४७ लाख ७१ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको कर अघिको मुनाफा रु. ९ अर्व ८५ करोड ०२ लाखको तुलनामा रु. ३ अर्ब ४१ करोड ४५ लाख (अर्थात् ३४.६६ प्रतिशत) ले बढी हो।
यस आ.व. को चौथो त्रैमासिकसम्म खुद मुनाफा रु. ८ अर्व ८६ करोड ४६ लाख रहेको छ। उक्त रकम गत आ.व. को सोहि अवधिको खुद मुनाफा रु. ६ अर्व ६७ लाखको तुलनामा रु. २ अर्ब ८५ करोड ७९ लाख (अर्थात् ४७.५८ प्रतिशत) ले बढी भएको छ।
कम्पनीको प्रति शेयर आम्दानी रु. ४९.२५ रहेको छ।
कम्पनीकाअनुरा गत आ.व. को तुलनामा यस आ.व. मा राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुका प्रमुख कारणहरुमा ब्याज दर क्रमिक रूपमा घट्नुको कारणले व्याज आयमा गत आ.व. को चौथो त्रैमासिकसम्मको तुलनामा व्याज आय करिब रु. ८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशतले घटी भएको छ।
यसैगरी राजश्व बढ्नुमा जीएसएम तर्फको राजश्व गत आ.व.को चौथो त्रैमासिकसम्मको तुलनामा ६४ करोड ५४ लाख (अर्थात् २.२८ प्रतिशत) ले बढेको छ।
सरकारी कम्पनी भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको जनाएको छ।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार