काठमाडौं ।
इलन मस्कको स्पेसएक्सले सञ्चालन गर्ने स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कले भियतनाममा अर्डर लिन थालेको छ। कम्पनीको स्थानीय वेबसाइटका अनुसार भियतनामका ग्राहकले अब सेवा लिनका लागि अर्डर गर्न सक्नेछन्।
घरायसी ग्राहकले स्टारलिङ्कको वेबसाइटमार्फत डिपोजिट रकम बुझाएर सेवा बुक गर्न सक्नेछन्। आवासीय सेवाको मासिक शुल्क ११ लाख ३० हजार डोङ (४३ अमेरिकी डलर) बाट सुरु हुन्छ। यसमा हार्डवेयरका लागि थप ८६ लाख ६० हजार डोङ शुल्क लाग्नेछ।
रोयटर्सका अनुसार कर्पोरेट ग्राहकका लागि मासिक सदस्यता शुल्क न्यूनतम १४ लाख ८० हजार डोङ तोकिएको छ।
स्टारलिङ्कको कभरेज नक्साअनुसार भियतनाम दक्षिणपूर्वी एसियामा स्टारलिंक सेवा उपलब्ध हुने छैटौं बजार बनेको छ। यसअघि इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र पूर्वी टिमोरमा सेवा उपलब्ध थियो।
भियतनाम सरकारले मार्च २०२५ मा स्पेसएक्सलाई परीक्षणका रूपमा स्टारलिङ्क सेवा सञ्चालन गर्न अनुमति दिने घोषणा गरेको थियो। त्यस क्रममा स्टारलिंक सेवाका लागि विदेशी स्वामित्वसम्बन्धी सीमा हटाइएको थियो।
परीक्षण अवधिमा स्टारलिंकका ग्राहकको संख्या ६ लाखमा सीमित गरिएको छ। यो परीक्षण अवधि सन् २०३० को अन्त्यसम्म रहनेछ।
स्टारलिङ्कको सेवा स्पेसएक्सको स्थानीय कम्पनी स्टारलिंक सर्भिसेस भियतनामले सञ्चालन गर्नेछ। उक्त कम्पनी सेप्टेम्बर २०२५ मा ३० अर्ब डोङ (करिब ११ लाख अमेरिकी डलर) अधिकृत पुँजीसहित स्थापना भएको थियो।
भियतनाम सरकारले स्टारलिंकका लागि चारवटा ग्राउन्ड गेटवे स्टेसन सञ्चालन गर्न अनुमति दिएको छ।
प्रकाशित: ३० श्रावण २०८३, शनिबार