काठमाडौं ।
कन्सुलर सेवा विभागले कन्सुलर प्रमाणीकरण सेवाका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ।
विभागले आज एक विज्ञप्ति प्रकाशित गरी आज साउन २७ गतेदेखि नै लागू हुनेगरी नेपाल ई–एटेस्टेसन सिस्टम (NEATS) मार्फत कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको जानकारी दिएको हो।
विभागका अनुसार आगामी भदौ १ गतेदेखि कागजात प्रमाणीकरणका लागि सेवाग्राहीले अनिवार्य रूपमा ‘निट्स’ प्रणालीमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। प्रणालीमा कागजात अपलोड गरी आवेदन स्वीकृत भएपछि तोकिएको राजस्व बुझाउनुपर्नेछ।
राजस्व बुझाएपछि प्राप्त अपोइन्टमेन्टको मिति र समयमा सक्कल कागजातसहित कन्सुलर प्रमाणीकरणका लागि विभागमा उपस्थित हुनुपर्नेछ।
अनलाइन आवेदन तथा अपोइन्टमेन्टका लागि विभागले https://doc.nepalconsular.gov.np/ वेबसाइट उपलब्ध गराएको छ। कन्सुलर सेवा विभागले यस व्यवस्थाले कागजात प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित र सहज बनाउने जनाएको छ।
प्रकाशित: २७ श्रावण २०८३, बुधबार