काठमाडौं ।
सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत ‘BV Nepal’ नामक अनलाइन प्लेटफर्मले अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाउँदै अनलाइन ठगी गरिरहेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
साइबर ब्यूरो, भोटाहिटी काठमाडौंले आज एक सार्वजनिक सूचना राख्दै उक्त प्लेटफर्मबाट असामान्य रूपमा उच्च प्रतिफल दिने प्रलोभन देखाई अनलाइन स्क्याम भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएको जनाएको छ।
सूचनामा यस्ता योजनामा आकर्षित भई कुनै पनि एप्लिकेसन, वेबसाइट वा योजनामा पैसा लगानी नगर्न आग्रह गरिएको छ। साथै, यससँग सम्बन्धित कुनै जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गरी उजुरी दर्ता गर्न अनुरोध गरिएको छ।
साइबर ब्यूरोले सार्वजनिक गरेको सामग्रीमा ‘BV Nepal’ मार्फत विभिन्न रकम लगानी गरेबापत त्यसको तुलनामा निकै कम मूल्यका भौतिक पुरस्कार उपलब्ध गराउने दावीसमेत देखाइएको छ।
उदाहरणका रूपमा ५ हजार रुपैयाँ लगानीमा ७५० रुपैयाँ, २० हजारमा ३ हजार, ५० हजारमा ६ हजार ५००, १ लाख ५० हजारमा २२ हजार ५००, ३ लाखमा ६० हजार तथा ५ लाख रुपैयाँमा १ लाख रुपैयाँबराबरको भौतिक पुरस्कार दिने उल्लेख छ।
ब्यूरोले यस्ता अस्वाभाविक प्रतिफल तथा पुरस्कारको प्रलोभनमा परी रकम नहाल्न सर्वसाधारणलाई आग्रह गरेको हो।
प्रकाशित: २७ श्रावण २०८३, बुधबार